धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित होमस्टे गाउँ भादामा प्रदेशस्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ।
थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजना र सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा होमस्टे महोत्सव आयोजना हुने भएको हो। महोत्सव वैशाख १८ देखि २० गतेसम्म आयोजना हुने आयोजकले धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
महोतसवमा सुदूरपश्चिमको रैथाने परिकारको प्रदर्शनीकासाथै, थारू हस्तकलाको प्रदर्शनी, विभिन्न जातजातीको मौलिक सांस्कृतिक प्रस्तुति रहने समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए। उनले होमस्टे अवधिभरि पाहुनाहरूलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सफारीको व्यवस्था पनि गरिने बताए। महोत्सव आयोजनाका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १५ लाख रुपियाँ आर्थिक सहयोग गर्ने जनाइएको छ।
महोत्सवले प्रदेशमा सञ्चालित होमस्टे प्रवर्धनमा टेवा पुग्ने होमस्टे महासङ्घ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले बताए। उनले महोत्सवमा प्रदेशभरिकै होमस्टेकर्मीको सहभागिता रहने जानकारी दिनुभयो। महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ।