धनगढीः सुनचाँदी व्यवसायी संघ, कैलालीको अगुवाइमा नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ सुदूरपश्चिम प्रदेशले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमार्फत व्यवसायीहरुले सरकारले सुनचाँदी व्यवसायमा हालसालै ल्याएको नयाँ कर प्रणालीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। ज्ञापनपत्रमा उल्लेख गरिए अनुसार, सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको जनाइएको छ। तर, यस्तो प्रक्रिया व्यवसायमा घाटा पु¥याउने भन्दै यसमा पुनर्विचार गर्न माग गरिएको छ।
व्यवसायीहरुले हाल लागू भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न माग गरेका छन्। व्यवसायीहरूले कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्नसमेत आग्रह गरेका छन्। उनीहरूले निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेका हुन्।
ज्ञापनपत्रमा भनिएको छ, हालको कर संरचनाले व्यवसाय, रोजगारी तथा बजारमा प्रतिकूल असर पार्ने खतरा रहेको छ। भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।
ज्ञापनपत्रमा सुनचाँदी व्यवसायी संघ, कैलालीका अध्यक्ष यदु सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका सभापति सन्तोष सापकोटा, र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ सुदूरपश्चिम प्रदेशका सभापति कमलप्रसाद गौतमको हस्ताक्षर रहेको छ। व्यवसायीहरुले सरकारलाई अविलम्ब वैठक गरी समस्या समाधान गर्न आग्रह गरेका छन्, अन्यथा आन्दोलनको चेतावनीसमेत दिएका छन्।