धनगढीः आन्दोलन र सङ्घर्षको जगबाट उदाएको रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच हुन गइरहेको एकताका कारण दुवै पार्टीका नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन्।
दुवै पार्टीबिचको एकता वैशाख १७ गते घोषणा हुँदै छ। एकताका लागि दुवै पार्टीले आआफ्नो बैठक पनि बोलाइ सकेको छ। जनमत पार्टीले वैशाख १६ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ भने नागरिक उन्मुक्ति पार्टीले वैशाख १५ गतेका लाग केन्द्रीय समितिको बैठक बोलाएको छ।
दुई पार्टीको एकताले शक्तिशाली नागरिक जनमत पार्टीको निर्माण हुने भन्दै उनीहरू उत्साहित देखिएका हुन्। यो एकताले ठुलो राष्ट्रिय पार्टी निर्माण हुने उनीहरूको दाबी छ। एकताको विषयलाई लिएर नेता, कार्यकर्ता सबै सकारात्मक रहेको नागरिक उनमुक्ति पार्टी कैलारी गाउँपालिकाका संयोजक शङ्कर चौधरीले बताए। दुई पार्टीबिचको मिलनले पार्टीको सङ्गठनात्मक संरचना अझ बलियो बन्दै जाने उनको विश्वास छ।
शक्तिशाली राष्ट्रिय पार्टी निर्माण भएमा त्यसले आगामी निर्वाचनमा धेरै फाइदा हुने चौधरीले बताए। यसै गरी नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको आन्तरिक कलह पनि पार्टी एकताले किनारा लाग्ने उनको विश्वास छ।सबै कुरा राम्रो हुने भएकाले एकताको विषयमा कोही नाकारात्मक छैन । उनले थपे,सबै नेता कार्यकर्ता सकारात्मक रहेको मैले पाएको छ। सबै जना एकताका लागि उत्साहित छौँ ।
यसअघि भएको निर्वाचनबाट जनमत पार्टी राष्ट्रिय पार्टी बनेको थियो। कैलालीमा सबैभन्दा बलियो नागरिक उन्मुक्ति पार्टी भने थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चुकेको थियो। यो पार्टीले कैलालीमा तीन र बर्दियामा एक निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको चुनाव जितेको छ।
यसै गरी प्रत्यक्षतर्फ पाँच जना प्रदेश सभामा विजयी भएका थिए। यो जिल्लामा जनमत पार्टीको प्रभाव कम रहे पनि पूर्वी तराईमा भने यो पार्टी शक्तिशाली रहेको छ। दुवै पार्टीको मिलन एउटा वैकल्पिक शक्ति बन्न सक्ने नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्व गर्नुहुने भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले बताए। उनले पार्टी एकतापछि सबै जना शक्तिशाली राष्ट्रिय पार्टीको सदस्य, जनप्रतिनिधि हुन पाउने उल्लेख गरे।
माग, मुद्दा र एजेन्डा मिलेका कारण नागरिक उन्मुक्ति र जनमतबिच एकताका लागि पहिलेदेखि नै एक खालको प्रयास जारी थियो। एकता हुने पछिल्लो निर्णयले सबैलाई उत्साहित बनाएको जनमत पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम सहइन्चार्ज राजाराम चौधरीले बताए।
एकता सकारात्मक छ र यसका लागि हामी नेता, कार्यकर्ता सबै उत्साहित छौँ । उनले थपे,एकताको कुरा आएपछि बिचमा रन्जिताजीको अलि फरक बुझाइले दुई धार हुन्छ कि भन्ने डर थियो।अहिले उनी सकारात्मक छन् । दुई पार्टीको एकताले परिणाम राम्रै ल्याउने चौधरीको बुझाइ छ।