बझाङ : बझाङमा १६ किलोवाट क्षमताको जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द रहेको छ।बुंगल नगरपालिका–१ को गोइचनगाड लघु जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द रहेको हो।
विद्युत् आयोजना बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। विसं २०६५ सालमा निर्माण गरेको १६ किलोवाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट गोइचनका करिब दुई सय परिवार लाभान्वित भएका थिए।
उक्त जलविद्युत् आयोजना निर्माणमा गरिबी निवारण कोष र सप्रोज नेपाल र एन्साप नेपाल संस्थाको २७ लाख लगानी रहेको र बाकी स्थानीयले जनश्रमदान गरेका थिए। तीन वर्षअघि आएको बाढीका कारण आयोजनामा प्रयोग हुने मेसिनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो। आर्थिक अभाव तथा मर्मत सामग्री अभावका कारण विद्युत् पुनः सञ्चालनमा आउन सकेको छैन। विद्युत् बन्द भएपछि दैनिकी निकै कष्टकर बनेको स्थानीय बिर्ख बोहराले बताए।
स्थानीयले सञ्चालन गर्दै आएका अन्नपेल्ने मिल, आरा मिल, र अन्य साना घरेलु उद्योगसमेत विद्युत नहुँदा पूर्ण रूपमा बन्द भएका छन्। निर्माण समितिका निवर्तमान अध्यक्ष रामबहादुर बोहराले विकट स्थानका कारण मर्मत सामग्री ल्याउन गाह्रो हुने, सामान नपाइनु र बजेटको अभावले समस्या समाधानमा ढिलाइ भएको बताए। मर्मतका लागि वडा कार्यालय, बुंगल नगरपालिका र अन्य सम्बन्धित निकायमा पटक–पटक अनुरोध गरिएकोभए पनि कुनै सुनुवाइ नभएको आयोजनाका अध्यक्ष नरसिंह बोहराले बताए।
वडा अध्यक्ष कस्वा बोहराले वडामा बजेट अभाव भएको कारण तत्काल बजेट विनियोजन गर्न नसकिएको बताए। गोइचन क्षेत्रका बासिन्दालाई अन्धकारमा राख्न नहुने उल्लेख गर्दै उनले हाल कालंगा हाइड्रोपावरबाट विद्युत् विस्तार गर्न पहल भइरहेको बताए। बुंगल नगरपालिकका नगर प्रमुख जयबहादुर धामीले विद्युत् मर्मत गर्ने कि कालंगा हाइड्रोपावरसँग समन्वय गरेर गोइचनमा बिजुली बाल्ने भन्ने विषयमा उक्त वडाका वडाध्यक्षसँग छलफल गरिरहेको बताए। छिट्टै समस्या समाधान गरिने उनको दाबी छ।