धनगढी : मुलुकका ६ प्रदेशमा सरकारी मेडिकल कलेज छन तर ७ अर्वका पुर्वाधार बनिसकेको कैलालीको गेटामा मेडिकल कलेज बन्ने वा मेडिकल विश्वविद्यालय बन्ने भन्ने बारे कुनै टुंगो छैन । २०८० को कार्तिक देखि ५० शैयाको अस्थाई अस्पताल चलिरहेको छ । तर अस्पतालमा विषेशज्ञ जनशक्ति ल्याएर स्वास्थ्य सेवा दिनुभन्दा पनि त्यस अस्पतालमा उपकरण खरिदमा अनियमितता हुदै आएको छ ।
यसपाली पनि झण्डै २८ करोडका उपकरण खरिदका लागि १७ वटा बोलपत्र प्रकासित भएका छन । ती बोलपत्रमा पनि चरम अनियमितताको प्रयास भएको छ । बोलपत्रहरु कुनै एक ब्यापारीको हातमा पार्नका लागि उपकरण स्पेसिफिकेशनमा कम्पनीको नाम र मोडेल नम्बर समेत राखिदिएपछि अनियमितता हुन लागेको खुलेको हो ।
सात अर्व लगानीको पुर्वाधार निर्माण भईसकेको गेटा अस्पतालमा मेडिकल कलेज कसरी चलाउने ? विश्वविद्यालय बनाउन कसरी ऐन छिटो पास गर्ने ? र ५० शैयाको अस्थाई अस्पताललाई स्थाई गरी कसरी विस्तार गर्ने ? भन्दा पनि हरेकका आँखा उपकरण खरिदमा सेटिङ मिलाएर कसरी कमाउने ? भन्नेतिर लागेका छन ।
बीर अस्पताल काठमाण्डौंबाट चैत १४ गते गेटा अस्पताल सरुवा भएर आएका निर्देशक डाक्टर प्रदिप कुमार यादवले एक हप्ताभीत्र १७ वटा उपकरण खरिदका बोलपत्र प्रकासित गरेका छन । उनले अधिकांस बोलपत्र, खरिद ऐन र भ्रष्टाचार निवारण ऐन विपिरित प्रकासित गरेका छन ।
बोलपत्र नम्बर जीएच÷जी÷एनसिबि–१० मा मेडिकल ग्यास पाईपलाईन सिस्टमको माग गरिएको छ । त्यसमा जिसिई मेडिकल कम्पनीको एमसी–८० डुब्लेक्स मोडेल नै तोकेर माग गरिएको छ । (स्पेसिफिकेशन र कम्पनीको मोडेलको फोटो)यस्तै गाईने अप्रेशन कक्षका लागि उपकरण खरिदको टेन्डरमा पाठेघरको क्यान्सर जाँच गर्ने मेसिनको स्पेसिफिकेशनमा न्यू मार्स कम्पनीको लु–मोडेलसँग मिल्ने गरी बुँदाहरु राखिएका छन । त्यो कम्पनीको क्याटलक हेर्दा धेरै बुँदाहरु हुबहु कपी गरिएका छन ।
उपकरण खरिदको एउटा अर्को टेन्डरमा आईसीयुमा भएका विरामीहरुको घाँटीको ¥याल निकाल्ने मेसिनको माग गरिएको छ । ‘अटोमेटिक ट्राचेल सेक्रेशन रिमोभल डिभाइस’ नाम गरिएको नविनतम प्रविधिको उक्त उपकरण नेपालको एकमात्र आपूर्तीकर्ता एम केयर टेक्नोलोजीले मात्रै आपुर्ती गर्छ ।
तर यो मेसिनसँगको प्याकेजमा आईसीयु बाहेकका करोडौंका उपकरण राखेर एम केयरलाई मात्र टेन्डर पार्ने गरि अनियमिता गरिएको छ । यस प्याकेजमा ईसीजी मेसिन पनि राखिएको छ । यस उपकरण खरिदका लागि बनाईएको स्पेसिफिकेशनका बुँदा नम्बर ३ दसमलव ७, ३ दसमलव ८, र ३ दसमलव १४, ट्राचफ्लस मोडेलको क्याटलकबाट सारिएका छन ।
श्रोत भन्छ, ‘कुनै कुनै उपकरण एकजना आपुर्तीकर्तासँग मात्र हुन्छ । उसलाई पुरै प्याकेजको टेन्डर पार्न अरु सहज रुपमा पाउने उपकरणहरु पनि राखेर बदमासी गरिन्छ । यो सरासर भ्रष्टाचार हो । यस्तो गर्न भनेको खरिद ऐन र भ्रष्टाचार निवारण ऐन विपरित हो । अरु उपकरण अरु आपुतीकर्तासँग पनि हुने भएकाले प्रतिस्पर्धा नहोस र त्यसबाट बचेको रकम कमिशनका रुपमा आओस भनेर यस्तो गरिन्छ ।’
यती मात्रै होईन, आईसीयुमा प्रयोग हुने उपकरण खरिदको बोलपत्रभीत्र ‘ब्लड ग्यास अनालाईजर’ नामक उपकरण पनि राखिएको । उक्त उपकरणको स्पेसिफिकेशन ड्रागन कम्पनीको आई–२० भन्ने मोडेलसँग मिल्ने गरि राखिएको छ । यो चाईनिज कम्पनी हो ।
एकजना बायोमेडिकल ईन्जिनियर भन्छन, ‘यसको स्पेसिफिकेशनमा लाक्टोलोज र ग्लुकोज टेस्ट गर्न मिल्ने भन्ने कुरा लेखिएको छैन । सायद कुनै आपुर्तीकर्ताको पुरानो मोडेलको कुनै उपकरण किनि दिनका लागि यस्तो गरिएको हुनसक्छ ।’
उनले ब्लड ग्यास अनालाईजर मेसिनमा लाक्टोलोज र ग्लुकोज टेस्ट अनिवार्य हुनुपर्ने बताए । ‘ब्लड ग्यास अनालाईजर मेसिनमा लाक्टोलोज र ग्लुकोज टेस्ट भएन भने त्यसको कुनै काम नै छैन’ उनले भने ।
गेटा अस्पतालको उपकरण खरिदका लागि प्रकासित भएका १७ वटा टेन्डर मध्ये एउटा बाझोपनको उपकरणको प्याकेज पनि छ । त्यसमा ९ वटा उपकरणहरु माग गरिएका छन । त्यो प्याकेजभीत्र सल्यक्रिया कक्षमा प्रयोग हुने ‘फोरके हिस्टेस्कोपी सिस्टम’ र अल्ट्रासाउन्ड मेसिन पनि राखिएको छ । तर बाझोपन लागि अति अवश्यक रहेको महिलाको डिम्बासयबाट अण्डा निकाल्ने उपकरण भने प्याकेजमा समावेश गरिएको छैन । स्रोत भन्छ,‘यो उपकरण नभएर बाझोपनको सेटअफ गर्नै सकिदैन ।’
‘फोरके हिस्टेस्कोपी सिस्टम र अल्ट्रासाउन्ड मेसिनहरु देशका धेरै आपुर्तीकर्तासँग उपलब्ध हुन्छन ।
उनीहरुले प्रतिस्पर्धामा टेन्डर हालेपछि अस्पतालले सस्तोमा उपकरण पाउछ तर कर्मचारीको कमिशन घटछ । त्यसैले आपुर्तीकर्ताहरुसँग पहिना नै सेटिङ गरेर प्याकेज बनाईन्छ’ सर्जिकल सामानका एकजना आपुर्तीकर्ता भन्छन । ‘प्रकासित भएका १७ वटा टेन्डर मध्ये अधिकांसमा यस्तै गरिएको छ ।’
१७ वटा टेन्डर मध्ये मोडुलर ओटीको पनि बोलपत्र आह्वान भएको छ । मोडुलर ओटीका प्याकेजमा राखिएका अधिकांस उपकरणहरु साल्या कम्पनीको पर्ने गरी राखिएका स्रोत बताउछ । उक्त उपकरणहरुको स्पेसिफिकेशनमा ११ वटा बुँदा साल्या कम्पनीको उत्पादन सँग मिल्दोजुल्दो छन ।
अस्पतालको सुरुवात देखि नै मेडिकल माफियाहरुको आँखा गेटामा पर्दै आएको छ । ५० शैयाको अस्थाई अस्पताल सञ्चालन भएका बेला निर्देशकको रुपमा आएका डाक्टर प्रमोद जोशीको पाला देखि नै उपकरण खरिदमा भ्रष्टाचार हुन थालेको हो । डाक्टर जोशीका पालामा पनि अनियमितताको मनसायले प्रकासित ६ वटा बोलपत्रहरु राष्ट्रिय दैनिकमा प्रशासित भएर रद्ध भएका थिए ।
त्यो क्रम अहिलसम्म आएर पनि रोकिएको छैन । वीर अस्पताल काठमाण्डौंबाट सरुवा भएर चैतको १४ गते मात्रै निर्देशकको रुपमा गेटा अस्पतालमा हाजिर भएका डाक्टर प्रदिप कुमार यादवले चैतको २७ गतेयता मात्रै २८ करोडका १७ वटा टेन्डर प्रकासित गरेर उपकरण खरिदमा भ्रष्टाचार गरेका छन ।
उनले खोलेका १७ वटा टेन्डरहरु प्याकेजमा खोलिएका छन । एउटा मात्रै सप्लायर्सलाई लक्षित गरि प्याकेजमा खोलिएका टेन्डरमा सल्यक्रिया कक्षका लागि आवश्यक उपकरणमा अन्तरंगको सामान राखिदिएका छन । उनले अधिकांस उपकरणमा कम्पनीको मोडेल समेत उल्लेख गरेर स्पेसिफिकेशन तयार पार्न लगाएका छन ।
भएको खरिद समिति हटाएर उनले नयाँ खरिद समिति बनाएका छन । अस्पतालमा कार्यरत बायोमेडिकल ईन्जिनियरलाई बाईपास गर्दै काठमाण्डौंबाट बायोमेडिकल ईन्जिनियर ल्याएर स्पेसिफिकेशन तयार पारेर चरम भ्रष्टाचार गरेका छन ।
तर निर्देशक प्रदीप कुमार यादव भने खरिदमा कुनै अनियमितता नभएको बताउछन । ‘खरिद समिति परिवर्तन गरे, त्यो सही हो । कसैले बस्न मान्यो कसैले मानेनन । बस्न नमान्नेलाई कसरी समितिमा राख्ने ?’ उनले भने । ‘नयाँ बनाएको खरिद समितिमा पनि प्राविधिक, लेखाका प्रतिनिधि र खरिद बुझेकै ब्यक्ति छन ।’
उनले उपकरणहरुको स्पेसिफिकेशनका लागि बायोमेडिकल इन्जिनियर परिवर्तन गर्ने अधिकार कार्यालय प्रमुखलाई भएको बताए । ‘कुनै बायोमेडिकल इन्जिनियरले बनाएको स्पेसिफिकेशनमा चित्त बुझेन भने अर्को मगाउन सकिन्छ । मैले त्यही गरेको हुँ । कसैलाई बाईपास गरिएको छैन’ निर्देशक यादवले भने ।
उनले उपकरणहरुमा मोडेल नै राखेर बोलपत्र आह्वान नगरिएको दाबी गरे । ‘त्यस्तो त छैन, हाम्रो प्रिबिड मिटिङ पनि हुन्छ । त्यसमा बिड गर्नेहरु आउछन, केही विग्रेको छ भने त्यसबेला सुधार पनि गर्न सकिन्छ’ उनले भने ।