धनगढी : चैत १४ गते निर्देशकको रुपमा गेटा अस्पतालमा आएका डाक्टर प्रमोद कुमार यादवले आउने वित्तिकै गेटा अस्पतालमा रहेको खरिद समिति भंग गरेर नयाँ समिति बनाएका थिए ।
उनले प्रशासन शाखाका अधिकृत खगेन्द्र भारती, डाक्टर मोहन नाथ, लेखापाल चक्र बहादुर विष्ट र जनस्वास्थ्य अधिकृत शिद्धराज भट्ट रहेको खरिद समिति भंग गरे । त्यसको ठाउँमा उनले अस्पतालका प्रसुती तथा स्त्री रोग विषेशज्ञ डाक्टर जगदिश विष्टको संयोजकत्वमा डाक्टर शंकर अधिकारी र जनस्वास्थ्य अधिकृत शिद्धराज भट्ट सदस्य रहेको तीन सदस्यीय खरिद समिति गठन गरे ।
‘अहिलेकोे उपकरण खरिदको हामीलाई कुनै पनि जानकारी छैन । यसअघिको खरिद समितिले तयार पारेको खरिद योजना भन्दा तलमाथि गरेर खरिदको सूचना प्रकासित भएको छ’ प्रशासन शाखाका अधिकृत भारतीले भने ।
अस्पतालका बायोमेडिकल ईन्जिनियर बाईपास
निर्देशक यादवले समिति खरिद समिति भंग मात्रै गरेनन,त्यहाँका बायोमेडिक इन्जिनियरलाई समेत बाईपास गरेर उपकरणको स्पेसिफिकेशन तयार पार्न लगाए । गेटा अस्पतालको सुरुवात भएकै बेलादेखि त्यहाँ हरेन्द्र चटौत बायोमेडिकल ईन्जिनियरको पदमा कार्यरत छन ।
यसअघिका सबै उपकरण खरिदको स्पेसिफिकेशन बायोमेडिकल ईन्जिनियर चटौटले नै बनाएका थिए । तर निर्देशकको रुपमा आएका डाक्टर प्रदीप कुमार यादवले आउने वित्तिकै चटौतलाई स्पेसिफिकेशनको काम दिएनन ।
अस्पतालमै भएका बायोमेडिकल ईन्जिनियर चटौतलाई बाईपास गर्दै उनले संघीय सरकार मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली काठमाण्डौंका बायोमेडिकल ईन्जिनियर अमृत प्रसाद भण्डारीलाई काजमा ल्याएर उपकरणहरुको स्पेसिफिकेशन तयार पार्न लगाए ।
सामान्यतया कुनै कर्मचारीलाई काजमा मगाउनका लागि सम्बन्धित अड्डाको प्रशासन शाखाले पत्राचार गर्ने गर्छ तर निर्देशक यादवले परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल ईन्जिनियर भण्डारीलाई काजमा पठाई दिन भन्दै चैतको २६ गते आफ्नै हस्ताक्षरमा पत्राचार गरेका छन ।
‘परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल ईन्जिनियरलाई काजमा खटाउन न प्रशासनले पत्र लेखेको छ, न उनले कार्यालयमा आएर काम गरेको कुनै पत्र प्रशासनमा दर्ता नै छ’ प्रशासन शाखा प्रमुख खगेन्द्र भारतीले भने । ‘कार्यालयको मूल दर्ता चलानीमा भण्डारी मागाउने र आएको कुनै पत्र दर्ता छैन ।’
तर चाखलाग्दो कुरा के छ भने परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल ईन्जिनियरको २०८१ चैत २७ गते मात्रै गेटा अस्पतालमा काज सरुवा भएको पत्र छ । उपकरण खरिदका ५ वटा टेन्डर एकै दिन (२०८१ चैतको ३१ गते) राष्ट्रिय पत्रिकाहरुमा प्रकाशित भएका छन । २०८२ को बैशाख २ गते मात्रै थप ८ वटा टेन्डर राष्ट्रिय पत्रिकामा प्रशासित भएका छन ।
‘चैतको २७ गते काज सरुवा भएका भण्डारीले तीन दिनमा ५ वटा र १ दिनमा ८ वटा टेन्डरहरुको स्पेसिफिकेशन कसरी तयार पारे ? यसबाट के पुष्टि हुन्छ भने पत्राचार हुनुभन्दा अगाडी नै कसैको सेटिङका लागि स्पेसिफिकेशनको काम भण्डारीलाई दिईएको थियो’ एजजना बायोमेडिकल ईन्जिनियरले भने । ‘५ दिनमा १३ वटा प्याकेजका टेन्डरहरुको स्पेसिफिकेशन राती नसुतेर पनि गर्न सकिदैन । त्यसमा केही सेटिङ छ ।’