Skip to main content

दरबन्दी नविकरण नहुँदा गेटा अस्पतालका १०३ जना कर्मचारी अवैध रुपमा तलबभत्ता बुझ्दै

Submitted by editor on
३२ जना कर्मचारी स्थाई, २६ जना करार, १२ जना छात्रबृत्ती करार र ३४ जना ज्यालादारी गरी १०३ जनाले असारपछि दरबन्दी स्वीकृत नभएर नै तलब भत्ता बुझिरहेका छन ।
शिवराज भट्ट
१०३ जना कर्मचारी अवैध

धनगढी : कैलालीको गेटामा सञ्चालनमा रहेको संघीय सरकार मातहतको गेटा अस्पतालका १०३ जना कर्मचारी अवैध रुपमा तलबभत्ता बुझ्दै आएका छ । २०८१ को असार देखि दरबन्दी स्वीकृत नभएपछि उनीहरु अवैध रुपमा बाध्य भएर तलबभत्ता खादै आएका हुन ।

संघीय सरकारको मातहतमा रहने गरी गेटामा २०८० सालको कार्तिक १ गते देखि ५० शैयाको अस्थाई अस्पताल सञ्चालनमा आएको हो । नेपाल सरकार संघीय मन्त्रीपरिषदले २०८० सालको असार १७ गते श्रेणीविहिन र सहायक स्तरका ११० जना कर्मचारी र असार १९ गते अधिकृत स्तरका ३१ जनाको अस्थाई दरबन्दी स्वीकृत गरेपछि अस्पताल सञ्चालनमा आएको हो । 

तर एकवर्षका लागि गरिएको कर्मचारीको अस्थाई दरबन्दी अहिलेसम्म नविकरण भएको छैन । २०८० सालको असार १७ र १९ गते अस्थाई रुपमा गेटा अस्पतालमा खटाईएका कर्मचारीहरुको म्याद २०८१ सालको असारको १७ र १९ गते सकिसकिएको छ । ‘अहिलेसम्म मन्त्रालयमा पटक पटक पत्राचार भईसकेका छ तर अस्थाई दरबन्दी नविकरण भएका छैनन । तलबभत्ता सबले खाएकै छन’ प्रसाशन अधिकृत खगेन्द्र भारतीले भने ।

उनले सरकारले १४१ जना कर्मचारीको अस्थाई दरबन्दी नविकरण नगरे अहिलेसम्मको तलबभत्ताको रकम बेरुजु आउने बताए । गेटामा १४१ जनाको दरबन्दी स्वीकृत भएपछि १०३ जना मात्रै कर्यरत छन । ३२ जना कर्मचारी स्थाई, २६ जना करार, १२ जना छात्रबृत्ती करार, र ३४ जना ज्यालादारी गरी १०३ जनाले असारपछि दरबन्दी स्वीकृत नभएर नै तलब भत्ता बुझिरहेका छन ।

‘अस्पताल सञ्चालनका लागि अस्थाई दरबन्दीलाई स्थाईमा परिणत गर्नुपर्ने हो । मेडिकल कलेज नै बनाउने हो भनेपनि ५० शैयालाई बढाएर कम्तीमा पनि ३ सय शैया बनाउनतिर लाग्ने हो । त्यसको केही सुरसार नै छैन’ भारतीले भने ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अस्थाई दरबन्दी नविकरणका लागि पटक÷पटक पत्राचार गर्दा पनि अस्थाई दरबन्दी नविकरण नभएको बताए । कानूनमा अस्थाई दरबन्दी हरेक वर्ष नविकरण हुनुपर्छ । तर गेटामा असारदेखि दरबन्दी नविकरण नभएका हुन ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थाई दरबन्दी समेत स्वीकृत गरिएका छैनन भने मन्त्रालय र त्यहाँ बसेका मन्त्री सचिवहरु गेटालाई सञ्चालन गर्न कतिको तत्पर छन भन्ने खुरा छर्लङ्गै छ नी’ मेडिकल विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले भने ।