धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका– १६ भादास्थित थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्टेको छनोटमा परेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिले सोमबार एक कार्यक्रमको बीच भादा होमस्टेलाई उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशिले पुरस्कृत गरेको छ।
तारा गाउँ विकास समितिले नेपालभरकै होमस्टेलाई केही समय अगाडि पुरस्कारको लागि आवेदन आह्वान गरेको थियो। सोही आवेदनको आधारमा भादालाई उत्कृष्ट होमस्टेको रूपमा छनोट गरेको होमस्टे महासंघ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले जानकारी दिए।
भादामा आयोजित सुदूरपश्चिम प्रदेशगत होमस्टे कार्यशाला गोष्ठी आयोजना गरिएको थियो। सो गोष्ठीको समापन कार्यक्रमको अवसरमा समितिका अध्यक्ष सुरेशराज जोशी तथा कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीमार्फत पुरस्कार हस्तान्तरण गरिएको थियो।
बर्दियाको डल्ला स्टे दोस्रो स्थान हासिल गरेको छ । डल्ला होमस्टेलाई जैविकमार्ग होमस्टेको रूपमा ७५ हजार धनराधीले पुरस्कृत गरिएको छ । भने, काठमाडौँको हाँडि गाउँ होमस्टे तेस्रो स्थान हासिल गरेको छ। हाडि गाउँ होमस्टेलाई ५० हजार धनराशिसहित पुरस्कृत गरिएको छ।