Skip to main content

सुदूरपश्चिमका १० एयरपोर्ट, उडान ४ मा मात्रै

Submitted by editor on
कृष्ण बिष्ट बैतडी / खगेन्द्र बहादुर सिंह डोटी
पक्की धावनमार्ग

बैतडीको पाटनमा झण्डै १६ करोडको लगानीमा नागरिक उड्डयन प्राधिकरणले पक्की धावनमार्ग बनायो । माओवादीले भत्काएको रिपिटर टावर पनि बन्यो । केही महिना नीजि क्षेत्रको समीट एयरले उडान पनि भ¥यो तर पाटन एयरपोर्टका लागि २०७८ चैत्र १० गतेको उडान अन्तिम बन्यो ।


यात्रुहरुको अभाव देखाँउदै  २०७८ चैत्र १० पछि उडान बन्द गरेको समिट एयरले जनाएको छ । १६ करोड लागतमा निर्माण गरिएका विमानस्थलका संरचना अहिले प्रयोगबिहिन् छन् । ११ करोड लागतमा धावनमार्ग निर्माण गरिएको पाटन विमानस्थलको ५ करोड लागतमा ट्रमिनल भवन निर्माण गरिएको हो ।  


विमानस्थल प्रयोग बिहिन बनेपछि स्थानीयहरुले फोटो खिच्ने र घुमफिर गर्ने स्थलको रुपमा परिणत भएको छ । सदूरपहाडको पर्यटन प्रवद्र्धन हुने र व्यापार व्यवसायमा टेवा पुग्ने उदेश्यले निर्माण गरिएको विमानस्थल प्रयोगबिहिन बनेको हो । 


२०७७ मा परिक्षण उडान पश्चात व्यावसायीय उडान भएपछि यहाँका स्थानीय तथा सरोकारवाला निकायले खुसी व्यक्त गरेको भएपनि करिब २ वर्षदेखि उडान ठप्प हुदा अहिले निरास बनेका छन् । सरकारले विमानस्थलमा करोडौँको लगानी गरेर अलपत्र छाडेको जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीले बताए । नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेका सेवाग्राहीको भनाइ छ । 


दिपायल, सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम हो । त्यहाँ पनि २०७९ साल भाद्र ६ गते देखि उडान भएको छैन । धनगढीमा जहाज राखेर समीट एयरले दिपायल सहित सुदूरपश्चिमका पक्की विमानस्थलहरुमा उडान भर्दै आएको थियो । 


२०७७ साल असोज १७ गते समीट एयरलाइन्सले परिक्षण उडान गरेको थियो । उडान परिक्षण पश्चात् केही समय हवाई सेवा निरन्तर भएपनि अहिले बन्द भएको छ । समीट एयरले निरन्तरता दिन नसकेपछि नेपाल एयरलाइन्सले सुरु गरेको उडान पनि बन्द भएको छ ।

जहाज नआएसंगै डोटी नागरिक उड्डयन कार्यालय दिपायलमा समेत कर्मचारीहरु छैनन् । अहिले रेखदेखको लागि भन्दै एक जना कर्मचारी भएपनि यसबिषयमा उनलाई कुनै किसिमको जानकारी छैन ।


दिपायल विमानस्थल झण्डै ७ करोडको लगानीमा कालोपत्रे भएको हो । स्थानीय तेज डुम्रेल भन्छन, ‘दिपायल विमानस्थल कालोपत्रे हुँदा अब नियमित उडान हुन्छ भन्ने आशा लागेको थियो तर फेरि बन्द भई सक्यो ।’


लामो समय देखि जहाज नआए पनि दिपायल विमानस्थलमा नयाँ भौतिक संरचना निमार्ण कार्यले भने निरन्तरता पाएको छ । डोटी विमानस्थल आयोजना अन्तरगत विमानस्थलको टर्मिनल भवन र टावर निमार्णको कार्य भइरहेको छ । टर्मिनल भवन र टावर निमार्ण गर्न ५ करोड ९ लाखको लागतमा ठेक्का भएको छ ।


सुदूरपश्चिममा कैलालीको धनगढी (पक्की) र टीकापुर (कच्ची), कञ्चनपुरको मजगाउँ (निर्माणाधीन), दार्चुलाको गोकुलेश्वर (निर्माणाधीन), बैतडीको पाटन (पक्की), अछामको साँफेबगर (पक्की) र कमल बजार (कच्ची), बझाङको चैनपुर (पक्की), बाजुराको कोल्टी (पक्की) र डोटीको दिपायल (पक्की)मा गरी १० वटा विमानस्थल छन । 


धनगढीमा बुद्ध एयर र श्री एयरलाईन्सको ७ वटा उडान दैनिक छ भने बाजुरामा पनि उटान भईरहेको छ । साँझेबगर, बझाङको चैनपुरमा हप्तामा २ दिन समीट एयरले उडान गरेपनि अरु विमानस्थलमा भने कालोपत्रे भएर पनि हवाई सेवा सुचारु भएको छैन । 

अन्नपूर्ण पोस्टबाट