धनगढी :कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ । भीमदत्त नगरपालिका–११ को गड्डाचौकी नाकाबाट लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–११ का २५ वर्षीय राम बहादुर बिष्ट, भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय समिर डगौरा र २१ वर्षीय राहुल चौधरी रहेका छन्।
उनीहरुलाई विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले पक्राउ गरेको थियो । भारतबाट नेपालतर्फ पैदल हिँडिरहेका राम बहादुर बिष्टलाई शंका लागी रोकी चेकजाँच गर्दा उनको बायाँ हातमा कालो प्लास्टिकभित्र काजु बदाम र चिया पत्तीको बीचमा लुकाइएको अवस्थामा सेतो प्लास्टिकमा बेरिएको १३ दशमलव २७ ग्राम खैरो हेरोइन फेला परेको थियो।
यस्तै, सोही स्थानमा विशेष सूचनाको आधारमा प्रहरीले भारततर्फबाट रातो रंगको म२प १४२४ नम्बरको एफजेडएस मोटरसाइकल चढेर नेपाल प्रवेश गर्दै गरेका दुई जनालाई पक्राउ गरेको थियो। चेकजाँचका क्रममा समिर डगौराले लगाएको रातो पाइन्ट भित्र, निलो रंगको कट्टु भित्र लिंगको नजिक लुकाइएको ५ दशमलव ८१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
तीनै जनालाई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।