Skip to main content

मन्त्रालय तानिए सुदूरपश्चिमका कानून सचिव लिलाधर सुवेदी, आजै लुम्बिनी सरुवा

Submitted by editor on
पत्रकारहरुको आन्दोलन पछि सचिव लिलाधर सुवेदीले आफुले लेखेको फेसबुक स्टाटस हटाएका छन ।
ईबिगुल संवाददाता
 लिलाधर सुवेदी

धनगढी : विश्व प्रेस स्वतन्त्रताका दिन रकम खाएर पनि समाचार लेख्नेलाई विश्व प्रेस स्वतन्त्रता दिवशको शुभकामना भनेर समग्र पत्रकारिता क्षेत्रलाई होच्याउने गरी फेसबुक स्टाटस लेखेका सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदी मन्त्रालय तानिएका छन ।

न्याय सेवा आयोगले शुक्रबार सचिव सुवेदीलाई फिर्ता मन्त्रालय तानेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । सचिव सुृवेदीलाई प्रदेशमा जनताको कामकाज भन्दा पनि राजनीति बढी गर्ने गरेको आरोप लाग्दै आएको थियो । न्याय सेवा आयोगले उनलाई लुम्बिनी सरुवा समेत गरेको छ ।

सचिव सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गत हप्ताको शुक्रबार नै कानून न्याय तथा संसदीय मामिला मन्त्रालय फिर्ता बोलाउन भनेपछि उनलाई मन्त्रालयले फिर्ता बोलाएको हो । उनी शुक्रबार नै काठमाण्डौ गएका थिए ।

उनी फेसबुक वालमा जनयुद्ध दिवश जिन्दावाद हालेपछि एकाएक मिडियामा चर्चामा आएका थिए । उनले आफ्नो फेसबुक वालमा पोखराको भावि मेयर भनेर लेखेका छन भने बेला बेला फेसबुक पोस्टका कारण उनी चर्चामा आईरहन्छन । 

विश्व प्रेस स्वतन्त्रता दिवशकै दिन सचिव सवेदीले लेखेको स्टाटस पछि नेपाल पत्रकार महासंघ आन्दोलित भएको थियो । उनले रकम खाएर समाचार लेख्ने पत्रकारलाई पनि विश्व प्रेस स्वतन्त्रता दिवशको शुभकामना भन्दै सबै पत्रकारहरुलाई आक्षेप लगाउने पोस्ट लेखेको थिए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा, प्रदेश समिति र केन्द्र, पत्रकारका अरु संघसंगठनहरुले समेत विज्ञप्ती प्रकाशित गर्दै सचिव सुवेदीले समग्र पत्रकारहरुलाई लक्षित गरि लेखेको स्टाटसको विरोध गरेका थिए ।

पत्रकारहरुको आन्दोलन पछि उनले आफुले लेखेको फेसबुक स्टाटस हटाएका छन । ‘पत्रकारहरु लक्षित गरि लेखिएको स्टाटस हटाउन निर्देशन दिईएको थियो । त्यो उहाँले हटाउनु भएको छ । उनलाई संघीय मन्त्रालयमा फिर्ता बोलाउन भनिएको थियो, उनलाई शुक्रबार नै मन्त्रालय फिर्ता बोलाईएको छ’ मुख्यमन्त्री कमल बहादुर शाहले भने ।