Skip to main content

एमालेको अधिवेशन अछामका १० वटै स्थानीय तहमा सम्पन्न

Submitted by editor on
ईबिगुल संवाददाता
अधिवेशन

अछाम: अछामका १० वटै स्थानीय तहमा नेकपा (एमाले) अछामले अधिवेशन गरेको छ।

चार नगरपालिका र छ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्वमा पालिका कमिटी चयन गरिएको हो।मङ्गलसेन नगरपालिकामा डम्बरबहादुर रावलको नेतृत्वमा ४७ सदस्यीय, साँफेबगर नगरपालिकामा हिरण्डबहादुर कुँवरको नेतृत्वमा ४१ सदस्यीय र बान्नीगढी जयगढ गाउँपालिकामा हर्क साउदको नेतृत्वमा कमिटी चयन गरिएको छ।

यस्तै तुर्माखाँद गाउँपालिकामा पदमबहादुर बिसीको नेतृत्वमा ४७ सदस्यीय, चौरपाटी गाउँपालिकामा झङ्करबहादुर साउदको नेतृत्वमा ३५ सदस्यीय पालिका कमिटी चयन गरिएको छ। यस्तै पञ्चदेवल विनायकमा गोरखबहादुर रावलको अध्यक्षतामा ३५ सदस्यीय र कमलबजार नगरपालिकामा कम्मानसिंह चलाउने अध्यक्ष रहने गरी ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ।

ढकारी गाउँपालिकामा महादेव बुढा अध्यक्ष रहने गरी ३६ सदस्यीय र रामारोशन गाउँपालिकामा भिष्म साउदको अध्यक्षतामा पालिका कमिटी चयन गरिएको छ। मेल्लेख गाउँपालिकामा भने सुरेन्द्र साउदको नेतृत्वमा ३१ सदस्यीय पालिका कमिटी अघिल्लो वर्ष नै निर्वाचित भइसकेको बताइएको छ । दस वटै स्थानीय तहमा सर्वसम्मत रूपमा कमिटी चयन गरेर अधिवेशन सम्पन्न भएको एमाले अछामका अध्यक्ष शिवप्रसाद उपाध्यायले बताए।

एमाले अछामले वैशाख मसान्तभित्र पालिका अधिवेशन सम्पन्न गरिसक्नुपर्ने तय गरेको थियो । सोही कार्ययोजना अनुसार पालिका र वडा तहका अधिवेशन सम्पन्न गरिएको बताइएको छ। पालिका अधिवेशन सम्पन्न गर्नका लागि एमाले केन्द्रीय सदस्य रहेका क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिल्सेना र क्षेत्र नम्बर २ का यज्ञ बोगटी, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी र अछामबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्य, जिल्ला कमिटीका अध्यक्ष शिवप्रसाद उपाध्यायसहित जिल्ला सदस्य खटिएका थिए।