Skip to main content

गेटा अस्पताल उपकरण खरिद प्रकरण: अख्तियार र सतर्कता केन्द्रले थाल्यो अनुुसन्धान

Submitted by editor on
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले अनुसन्धान अधिकृत तोकेर छानविन सुरु गरेको जनाएको छ भने राष्ट्रिय सतर्कता केन्द्रले पनि १५ दिनभीत्र बोलपत्रका सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिएको छ ।
शिवराज भट्ट
कैलालीको गेटा अस्पताल

धनगढी : कैलालीको गेटा अस्पतालमा उपकरण खरिदमा भएको भ्रष्टाचारको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको छ ।

अन्नपूर्ण पोस्टले बैशाख १७ गते ‘गेटा अस्पतालका उपकरण किन्दा भ्रष्टाचारै भ्रष्टाचार’ शिर्षकको कभर स्टोरी प्रकाशित गरेको थियो । समाचारकै आधारमा राष्ट्रिय सतकर्ता केन्द्रले अनुसन्धान सुरु गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रले जेठ १ गते गेटा अस्पताललाई पत्र काटेर चैतको ३१ गतेदेखि बैशाखसम्म उपकरण खरिदका लागि प्रकासित १७ वटा बोलपत्रका सबै कागजात बुझाउन निर्देशन दिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले गेटा अस्पताललाई १५ दिनभीत्र १७ वटै बोलपत्र मार्फत खरिद गरिएको उपकरणहरुको सूची, बजेटको स्थिति, स्पेशिफिकेशन स्वीकृतीको निर्णय सहितका काजगात बुझाउन निर्देशन दिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले २०८२ सालको जेठ १ गते पठाएको पत्रमा यस्तो भनिएको छ ।

‘गेटा अस्पताल कैलालीको मिति २०८१/१२/३१ र २०८२/०१/०२ गते विभिन्न १७ वटा उपकरण खरिदको लागि गरिएको टेन्डरमा मिलेमतो गरि एउटा मात्र सप्लायर्सलाई लाभ पुग्ने गरी आह्वान गरिएको र सोबाट राज्यलाई करोडौं नोक्सानी हुने कार्य गरिएकाले छानविन गरि पाउँ भनि उजुरी परेकाले उपकरणहरु खरिदको सूची, बोलपत्र आह्वानको सूचना, स्पेशिफिकेशन तयार तथा स्वीकृत सम्बन्धि निर्णय, सो का लागि बजेट विनियोजनको स्थिति, तथा तहाँ अस्पतालमा कार्यरत बायोमेडिकल इन्जिनियरहरुको विवरण १५ दिनभीत्र यस केन्द्रमा उपलब्ध गराई दिनहुन यस केन्द्रको उजुरी ब्यवस्थापन समितिको २०८२/०१/३० को निर्णयानुसार अनुरोध छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उपकरण खरिदमा भएको अनियमितताको छानविन सुरु गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले गेटा अस्पतालको उपकरण खरिदको बारेमा अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु भएको जनाएको छ ।

अख्तियारका कञ्चनपुर कार्यालय प्रमुख बेद प्रसाद भण्डारीले भने ‘गेटा अस्पतालमा १७ वटा टेन्डरमा भएको अनियमितताको छानविन सुरु भईसकेको छ । हामीले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरेका छौ । अनुसन्धान अधिकृत र अरु धेरै कुरा भन्न मिल्दैन’ अख्तियार दुरुपयोग अनुसन्धान आयोजका कञ्चनपुर कार्यालय प्रमुख भण्डारीले भने । उनले पत्रिकामा आएका समाचारका आधारमा पनि अख्तियारले उजुरी सरह नै छानविन गर्ने बताए । ‘पत्रपत्रिकामा आएको समाचार पनि हाम्रा लागि उजुरी जस्तै हो । अन्नपूर्ण पोस्टमा आएको समाचार पछि छानविन सुरु गरिएको छ’ उनले भने ।

यसरी भएको थियो उपकरण खरिदमा अनियमितता

कैलालीको गेटामा ५० शैय्याको अस्थाई अस्पताल छ । १४१ जनाको अस्थाई दरबन्दी रहेको उक्त अस्पताल २०८० सालको कार्तिक देखि सञ्चालनमा आएको हो । अस्पतालमा यसपाली झण्डै २८ करोडका उपकरण खरिदका लागि १७ वटा बोलपत्र प्रकासित भएका छन ।

बीर अस्पताल काठमाण्डौंबाट चैत १४ गते गेटा अस्पताल सरुवा भएर आएका निर्देशक डाक्टर प्रमोद कुमार यादवले एक हप्ताको अवधीमा १७ वटा उपकरण खरिदका बोलपत्र प्रकासित गरेका थिए । उनले अधिकांस बोलपत्र, खरिद ऐन र भ्रष्टाचार निवारण ऐन विपिरित प्रकासित गरेपछि अनियमितता गरिएको कुरा बाहिर आएको हो ।

बोलपत्र नम्बर जीएच/जी/एनसिबि–१० मा मेडिकल ग्यास पाईपलाईन सिस्टमको माग गरिएको थियो तर त्यसमा जिसिई मेडिकल कम्पनीको एमसी–८० डुब्लेक्स मोडेल नै तोकेर माग गरिएको थियो । खरिद ऐन अनुसार बोलपत्रमा कम्पनीको नाम र मोडेल नम्बर दिन पाउदैन ।

यस्तै गाईने अप्रेशन कक्षका लागि उपकरण खरिदको टेन्डरमा पाठेघरको क्यान्सर जाँच गर्ने मेसिनको स्पेसिफिकेशनमा न्यू मार्स कम्पनीको लु–मोडेलसँग मिल्ने गरी बुँदाहरु राखिएका थिए । कम्पनीको क्याटलक हेर्दा धेरै बुँदाहरु हुबहु कपी गरिएपछि मिलेमतोको आशंका गरिएको हो । उपकरणको स्पेशिफिकेशन बनाउदा कम्पनीको क्याटलकमै भएका कुराहरु लेखि दिएपछि एउटा मात्र सप्लायर्सलाई बोलपत्र पर्ने र त्यसबाट कमिशन माग्ने प्रपञ्च भएको प्राविधिकहरु बताउछन ।

उपकरण खरिदको एउटा अर्को टेन्डरमा आईसीयुमा भएका विरामीहरुको घाँटीको ¥याल निकाल्ने मेसिनको माग गरिएको थियो । ‘अटोमेटिक ट्राचेल सेक्रेशन रिमोभल डिभाइस’ नाम गरिएको नविनतम प्रविधिको उक्त उपकरण नेपालको एकमात्र आपूर्तीकर्ता एम केयर टेक्नोलोजीले मात्रै आपुर्ती गर्छ ।

तर यो मेसिनसँगको प्याकेजमा आईसीयु बाहेकका करोडौंका उपकरण राखेर एम केयरलाई मात्र टेन्डर पार्ने गरि मिलेमतो गरिएको थियो । खरिद ऐनमा एकप्रकारका सामान बाहेक अरु सामानको प्याकेज बनाउन नपाउने प्रावधान छ ।

यती मात्रै होईन, आईसीयुमा प्रयोग हुने उपकरण खरिदको बोलपत्रभीत्र ‘ब्लड ग्यास अनालाईजर’ नामक उपकरण पनि राखिएको थियो । उक्त उपकरणको स्पेसिफिकेशन ड्रागन कम्पनीको आई–२० भन्ने मोडेलसँग मिल्ने गरि राखिएको छ । 
अस्पतालको उपकरण खरिदका लागि प्रकासित भएका १७ वटा टेन्डर मध्ये बाझोपनको उपकरणको प्याकेजमा सल्यक्रिया कक्षमा प्रयोग हुने ‘फोरके हिस्टेस्कोपी सिस्टम’ र अल्ट्रासाउन्ड मेसिन पनि राखिए पछि मिलेमतोको आशंका गरिएको हो ।

१७ वटा टेन्डर मध्ये मोडुलर ओटीको पनि बोलपत्र आह्वान भएको छ । मोडुलर ओटीका प्याकेजमा राखिएका अधिकांस उपकरणहरु साल्या कम्पनीको सप्लायर्सलाई पर्ने गरी राखिएका छन । उक्त उपकरणहरुको स्पेसिफिकेशनमा ११ वटा बुँदा साल्या कम्पनीको उत्पादन सँग मिल्दोजुल्दो छन ।

सरुवा भएर चैतको १४ गते मात्रै निर्देशकको रुपमा गेटा अस्पतालमा हाजिर भएका डाक्टर प्रमोद कुमार यादवले चैतको २७ गतेयता मात्रै २८ करोडका १७ वटा टेन्डर प्रकासित गरेर उपकरण खरिदमा अनियमितता गरेका हुन ।

उनले खोलेका १७ वटा टेन्डरहरु प्याकेजमा खोलिएका छन । एउटा मात्रै सप्लायर्सलाई लक्षित गरि प्याकेजमा खोलिएका टेन्डरमा सल्यक्रिया कक्षका लागि आवश्यक उपकरणमा अन्तरंगको सामान राखिदिएका छन । उनले अधिकांस उपकरणमा कम्पनीको मोडेल समेत उल्लेख गरेर स्पेसिफिकेशन तयार पार्न लगाए पछि झन मिलेमतोको आशंका गरिएको हो ।

नेपालमा हरेक टेन्डर खरिद ऐन अनुसार हुनुपर्ने प्रावधान छ । खरिद ऐनको दफा ३ ९क० मा प्याकेजिङ तथा समूह विभाजन सम्बन्धी ब्यवस्था गरिएको छ ।  दफा ३ ९क० को उपदफा २ मा ‘सार्वजनिक निकायले खरिदलाई बढि सुविधाजनक समूहमा विभाजन गर्ने वा प्याकेजमा समावेश गर्ने गरी तयार गर्दा अलग अलग रुपमा सम्पन्न गर्न सकिने प्रकृतीको निर्माण कार्यका लागि अधिकतम प्रतिस्पर्धा हुने हदसम्म छुट्टाछुट्टै रुपमा बोलपत्र आह्वान गनुपर्ने छ’ उल्लेख छ ।

तर गेटा अस्पतालको अधिकांस बोलपत्रमा एकजना आपुर्तीकर्ताले मात्रै आपुर्ती गर्ने उपकरणको प्याकेजमा अरु अधिकतम प्रतिस्पर्धामा आउन सक्ने सामानहरु पनि समावेश गरि अनियमितता गरिएको छ । यहाँ सम्मकी कम्पनीको मोडेल नम्बर सहित स्पेसिफिकेशनमा राखिएको छ ।

खरिद ऐनकै दफा ३ ९क० को उपदफा ३ मा त एक अर्कासँग अन्तर सम्बन्धित नभएका उपकरण एकै प्याकेजमा नराख्ने स्पष्ट ब्यवस्था छ । उक्त उपदफामा भनिएको छ, ‘एक आपसमा अन्तर सम्बन्धित भई एउटै प्याकेज सञ्चालन गर्नुपर्ने भएमा बाहेक प्रतिस्पर्धालाई संकुचित र सिमित गर्ने गरी ठुला ठुला प्याकेज बनाई बोलपत्र आह्वान गर्नु हुदैन ।’

तर गेटा अस्पतालका अधिकांस उपकरण खरिदका बोलपत्रहरुमा ठुला ठुला उपकरणहरु एक अर्कासँग अन्तर सम्बन्धित नै नभएका राखिएका छन ।

निर्देशक यादवले आउने वित्तिकै अस्पताको खरिद समिति भंग गरेर नयाँ समिति बनाएपछि  झन मिलेमतोको भएको पुष्टि भएको हो । उनले अस्पतालका प्रशासन शाखाका अधिकृत खगेन्द्र भारती, डाक्टर मोहन नाथ, लेखापाल चक्र बहादुर विष्ट र जनस्वास्थ्य अधिकृत शिद्धराज भट्ट रहेको खरिद समिति भंग गरेर अस्पतालका प्रसुती तथा स्त्री रोग विषेशज्ञ डाक्टर जगदिश विष्टको संयोजकत्वमा डाक्टर शंकर अधिकारी र जनस्वास्थ्य अधिकृत शिद्धराज भट्ट सदस्य रहेको तीन सदस्यीय खरिद समिति गठन गरेका थिए ।

निर्देशक यादवले अस्पतालको सुरुवात भएकै बेलादेखि कार्यरत बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतको ठाउँमा संघीय सरकार मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली काठमाण्डौंका बायोमेडिकल ईन्जिनियर अमृत प्रसाद भण्डारीलाई स्पेशिफिकेशन तयार पार्न लगाएका थिए ।

सरुवा हुने वित्तिकै १७ टेन्डर प्रकाशित गर्नु र त्यसमा पनि स्पेशिफिकेशनका लागि काठमाण्डौंबाट बायोमेडिकल ईन्जिनिर ल्याउनुले पनि उनको उपकरण खरिदमा स्वार्थ रहेको प्रस्ट हुन्छ । निर्देशक यादवले परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल ईन्जिनियर भण्डारीलाई काजमा गेटा ल्याएर स्पेशिफिकेशन बनाउन लगाएका हुन ।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल ईन्जिनियर भण्डारीको काज सरुवाको पत्र २०८१ चैत २७ गतेको छ तर उपकरण खरिदका ५ वटा बोलपत्र एकै दिन (२०८१ चैतको ३१ गते) राष्ट्रिय पत्रिकाहरुमा प्रकाशित भएका छन । २०८२ को बैशाख २ गते मात्रै थप ८ वटा टेन्डर राष्ट्रिय पत्रिकामा प्रशासित भएपछि त ६ दिनमा १३ वटा बोलपत्रका उपकरणको स्पेशिफिकेशन कसरी तयार पारे ? भन्ने प्रश्न उब्जिएको छ ।