धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले आमसञ्चार क्षेत्रका लागि आगामी आर्थिक वर्षमा यथोचित बजेट विनियोजन गर्ने बताएका छन ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको ‘विकास पत्रकारिता सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम’ मा प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै मन्त्री सार्कीले यस्तो बताएका हुन ।
‘चालु आर्थिक वर्षमा आमसञ्चार क्षेत्रका लागि विनियोजन भएको बजेटमा मेरो पनि चित्त बुझेको छैन । यद्यपी यसपाली आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेट सिलिङ घटेर आएको छ । तर पनि मेरो प्रयास आमसञ्चार क्षेत्रका लागि यथोचित बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु’ उनले भने ।
मन्त्री सार्कीले मस्यौदाका रुपमा रहेको आमसञ्चार विधेयक हालै सञ्चालन भएको बजेट अधिवेशनमा दर्ता गर्नेगरी तयारी भएको बताए । ‘मन्त्रालय सम्हाल्दै गरेका बेलादेखि मेरो पहिलो प्रार्थमिकतामा आम सञ्चार विधेयक परेको हो । मस्यौदा माथि एक चरणको छलफल भईसकेको छ । त्यसमा केही सुझाव आएका छन । मस्यौदामा ती सुझावहरु समेटिने छन र अन्तिम पटक मस्यौदामाथि छलफल गरी प्रदेश सभामा लैजाने तयारी भईरहेको छ’ उनले भने ।
कार्यक्रममा विशिष्ट अथिति रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव डा दिपेन्द्र कुमार मिश्रले पनि आन्तरिक मामिला तथा कानून मन्त्रालय सञ्चार मन्त्रालय पनि भएकाले त्यसमा आमसञ्चार क्षेत्रका लागि बजेट आवश्यक रहेको बताए । उनले सरकारका तीन अंग झैं पत्रकारिता क्षेत्र पनि खबरपालिकाका रुपमा सरकारको अंग भएको बताउदै यसका लागि विगत भन्दा राम्रो बजेट आउने बताए ।
नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष भरत बहादुर शाहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीतु उपाध्याय, पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, केन्द्रिय सदस्य योगेन्द्र बलायर, प्रदेश समितिका सल्लाहकार अर्जुन शाह र मीन बमले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनीयनका प्रदेश अध्यक्ष मनमोहन स्वार, प्रेस चौतारी की केन्द्रिय सदस्य पार्वती धामी, आदीबासी जनजाती पत्रकार संघकी प्रदेश अध्यक्ष उन्नती चौधरी लगायतले पनि मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा आथित्य शाखाका रुपमा महासंघ कैलाली शाखा अध्यक्ष श्रवण देउवाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।