काठमाडौँ : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सोडारीविरुद्ध गैरकानुनी रूपमा १ करोडबढी अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् ।
सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ माघदेखि २०७५ कात्तिक सम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए । उनी गत वर्ष बैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले केन्द्रमा काँग्रेस–एमालेको गठबन्धन बनेसँगै अल्पमतमा परेपछि साउन १८ गते पदबाट राजीनामा दिएका थिए । अख्तियारले मुद्दा दायर गरेसँगै सोडारीको सांसद पद निलम्बन हुने छ ।