Skip to main content

मत्स्य विकास केन्द्र गेटामा ह्याचरी निर्माण

Submitted by editor on
ईबिगुल संवाददाता
 मत्स्य विकास केन्द्र

धनगढीः कैलालीको गेटामा २०३२/३३ सालमा मत्स्य विकास केन्द्र स्थापना भयो। गेटामा २० बिघा जग्गामा मत्स्य विकास केन्द्र फैलिएको छ।

माछा उत्पादनका लागि १७ वटा नर्सरी छन्। सात जातका माछाका भुराहरू सरकारी मूल्यमा बिक्री हुँदै आएका छन्। गेटामा ४२ वटा पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएका छन्। सात प्रकारका माछाका भुरा राख्न पोखरीहरू छन्।

एक वर्षमा पाँच करोड माछाका भुरा उत्पादन हुँदै आएका छन्। चालु आर्थिक वर्षमा मात्र ह्याचरी उतपादनका लागि आधुनिक केन्द्र निर्माण गरिएको छ। मत्स्य विकास केन्द्र गेटाका निमित्त प्रमुख निर्मलबहादुर खातीले ह्याचरी निर्माणको काम पूरा भएको बताए। प्रदेश सरकारले ह्याचरी निर्माणका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ विनियोजन गरेको थियो। मत्स्य विकास केन्द्रका लागि ह्याचरीको आवश्यकता पूरा भएको हो। किसानहरूको मागका आधारमा ह्याचरी उतपादन र बिक्री गर्न मत्स्य विकास केन्द्र सक्षम भएको हो। उनले भने, ‘किसानको मागका आधामा उत्पादन गर्ने हो। ह्याचरी उत्पादनका लागि समस्या हुँदैन। आधुनिक ह्याचरी निर्माण पूरा भएको छ।’

तर, गेटामा पोखरीहरुको भने अझै अभाव छ। पुराना संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या हुँदै आएको छ। मत्स्य विकास केन्द्र गेटाले ह्याचरी, फिङ्गर र फ्राई माछाका भुराहरू उत्पादन गर्दै आएको छ। उत्पादन भएका माछाका भुराहरू सरकारी मूल्यमा बिक्री हुँदै आएका छन्। तर, ४९ वर्षअघि निर्माण गरिएका भुरा राख्ने पोखरीहरू नयाँ निर्माण नभएकाले उत्पादन बढाउन समस्या भइरहेको हो।

माछाले फागुनदेखि भदौसम्म प्रजनन गर्दै आएका छन्। चैतबाट मत्स्य विकासले माछाका भुराहरू बिक्री गर्न सुरु गर्छ। ह्याचरी भने फागुनमासमेत बिक्री हुन्छन्। चालु आर्थिक वर्षमा २ करोड ५० लाख ह्याचरी, ४० लाख फिङ्गर र १६ लाख फ्राइ बिक्री भएको छ। चार करोड ह्याचरी उत्पादन गर्ने लक्ष्य मत्य विकासको थियो। सात प्रजातिका माछाका भुराहरु मत्स्य विकास केन्द्र गेटले उत्पादन र र बिक्री गर्दै आएको छ। सुदूरपश्चिमका लागि ७० प्रतिशत माछाका भुराको आपूर्ति मत्स्य विकास गेटाले गर्दै आएको छ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको मत्स्य विकास केन्द्र गेटाले एक लाख भुराको २ हजार पाँच सय रुपैयाँ मात्र लिने गरेको छ। गेटाले सुदूरपश्चिमका नौवटै जिल्लासहित बाँके, बर्दिया र कालीकोटसम्म माछाका भुरा बिक्री हुँदै आएका छन्। गेटासहित सुदूरपश्चिममा चारवटा माछाका भुरा उत्पादन गर्ने केन्द्र छन्।