Skip to main content

टेलिकमको तामाजन्य कवाडमा घोटालाको आशंका, प्रशासनद्वारा छानविन सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
टेलिकम

धनगढी :  नेपाल टेलीकमको कबाडजन्य पदार्थमा अनियमीतता भएको भन्दै प्रशासनले छानविन सुरु गरेको छ । नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामानको लिलाम बिक्रीका क्रममा अनियमितता भएको आशंकामा स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको हो ।

तीन दिनअघि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दूरसंचार कार्यालय गेटाबाट लोड गरेर लैजाने क्रममा सामग्री सहितका दुई वटा ट्रक नियन्त्रणमा लिएको थियो । टेलिकमको अभिलेखभन्दा प्रहरीले नियन्त्रणमा लिएका ट्रकको तौल झण्डै दोब्बरले बढी देखिएपछि अनियमितताको आंशका गरिएको हो ।

टेलिकमको गेटास्थित गोदामबाट १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) निकासी भएको अभिलेख छ । तर प्रहरीले नियन्त्रणमा लिइएका दुई वटै लोड ट्रकको तौल ५१ हजार ८३५ किलो (५१.८३५ टन) देखिएको छ । दुई वटा ट्रक मध्ये रा १ ख ३२०६ नम्बरको ट्रक ईलाका प्रहरी कार्यालय मालाखेतीले आइतबार गेटाबाट नियन्त्रणमा लिएको थियो । 

मालाखेती प्रहरीका एक अधिकृतका अनुसार उक्त लोड ट्रकको तौल २७ हजार ८३५ किलो (२७.८३५ टन) छ । ‘धर्मकाँटामा तौलेर मात्र कार्यालयभित्र ल्याएका हौं,’ ती अधिकृतले भने ‘भरिभराउ ट्रकको तौल २७ हजार ८३५ किलो भएको थियो ।’

गेटाबाटै समान लोड गरेर नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबार नै सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । उक्त लोड ट्रकको तौल २४ हजार किलो (२४ टन) रहेको जिल्ला प्रहरीका एक अधिकृतले बताए ।

सामान्यतया १२ चक्के खाली ट्रकको तौल अधिकतम १२ टन हाराहारी हुन्छ । प्रहरी नियन्त्रणमा रहेका एक ट्रकका चालकका अनुसार आफ्नो खाली ट्रकको तौल ११.८ टन रहेको बताए । त्यस हिसाबले दुई वटै खाली ट्रकको अधिकतम तौल २४ टन छ ।

कूल तौलमा बाँकी २७.८३५ टन टेलिकमबाट उठाएको समान छ । तर टेलिकमको अभिलेखमा भने १५.६७९ टन मात्र उल्लेख छ । त्यस हिसावले १२.१५७ टन तामाजन्य सामान टेलिकमबाट अनियमितता भएर निकासी भएको अनुमान गरिएको हो । 

यसकार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनी बीच मिलेमतो भएको आशंका रहेको कैलालीका एक सुरक्षा सम्बद्ध अधिकृतले बताए ।

निर्देशनालयका अनुसार प्रबल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग ठेक्का सम्झौता गरेको थियो । 

निर्देशनालयका अनुसार टेलिकमले उपलब्ध गराउने तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामान खरिदकर्ता कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैयाँ ८९ पैसामा खरिद सम्झौता भएको छ । त्यस हिसाबले १२.१५७ टन हिनामिना भएको देखिएको छ । उक्त परिमाणको खरिद मूल्य एक करोड तीन लाख ४३ हजार ४१८ रुपैयाँ हुन आउँछ ।

टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका प्रमुख किशोर भट्टले आफ्नो कार्यालयका तर्फबाट कुनै त्रुटि नभएको दाबी गरेका छन् । ‘हाम्रो कार्यालयको कुनै त्रुटि छैन, हामीमाथिको आरोपमा कुनै सत्यता छैन,’ भट्टले भने । ‘कुनै तलमाथि नहोस् भनेर हामीले कार्यालयका तर्फबाट उपप्रबन्धक गोबिन्दसिंह धामीको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले सबै हेर्ने संरचना बनाएका छौं ।’

ठेकेदार कम्पनीले पुस ६ गतेदेखि सामग्री संकलन सुरु गरेको हो । हालसम्म ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरिसकेको अभिलेख छ । जसअन्तर्गत धनगढी कार्यालयबाट २८ हजार ९७० किलो, भजनीबाट एक हजार ६३७ किलो, टीकापुरबाट १० हजार १४४ किलो र गेटाबाट १५ हजार ६७९ किलो गरी ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरेको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख छ । सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेलधुरा र दिपालयबाट सामान उठाउन बाँकी छ 


टेलिकमका अनुसार तामाजन्य सामग्री बिक्रीका लागि मंसिर २४ गते सम्झौता भएको हो । सम्झौता अनुसार ठेकेदार कम्पनीले ९६ टनका लागि ८ करोड रुपैयाँ धरौटी राखेको छ । प्रादेशिक कार्यालय प्रमुख भट्टले भने, ‘९६ टन अनुमानित राखेका हौं । बढी तौल संकलन भएमा पनि कम्पनीले खरिद गर्नुपर्ने सम्झौता छ । त्यसै अनुसार उसले खरिद पनि गरिरहेको छ ।’

यसैबीच जिल्ला प्रशासनले प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा तीन वटै सुरक्षा निकायका प्रतिनिधि, प्राविधिक र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि सम्मिलित छानबिन समिति गठन गरेको छ । प्रजिअ मिश्रले छानबिन समितिलाई चाँडो प्रतिवेदन दिन निर्देशन गरेको बताए ।