Skip to main content

शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै प्याब्सन द्वारा स्कूल बसमा कालो झण्डा प्रदर्शन

Submitted by editor on
ईबिगुल संवाददाता
शिक्षा विधेयक

धनगढी : नेपाल सरकारले ल्याउन लागेको शिक्षा विधेयक विरुद्ध धनगढी, गोदावरी लगायतका क्षेत्रमा  निजी तथा आवासीय विद्यालयहरु (प्याब्सन) ले बसमा कालो झण्डा प्रदर्शन गरेर शान्तिपूर्ण विरोध र्याली निकालेका छन् ।

निजी तथा आवासीय विद्यालय (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष जगबिर थापाले सरकारले ल्याएको शिक्षा विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै देशभर विरोध कार्यक्रम भइरहेको जानकारी दिए । थापाले कम्पनीका रूपमा दर्ता भइसकेका विद्यालयलाई गैरनाफामूलक बनाउन खोज्नु अनुचित भएको बताए । उनले “कुनै पनि कम्पनी बनेपछि नाफा–नोक्सानमा भागीदारी हुनु सामान्य कुरा हो, तर सरकारले यसलाई बेवास्ता गरेर शिक्षा ऐनमार्फत विद्यालयमाथि थप बोझ थोपर्न खोजेको छ ”, उनले भने ।

उनले सरकारले प्रस्ताव गरेको पूर्ण छात्रवृत्ति व्यवस्था व्यवहारिक नभएको दाबी गर्दै भने, “स्टेशनरी, ड्रेस, आवास, भर्ना शुल्क, मासिक शुल्क सबै निःशुल्क बनाउनुपर्ने भनिएको छ, तर सरकारले नै यसलाई कार्यान्वयन गर्न सकेको छैन । 

हाल निजी विद्यालयले १० प्रतिशतसम्म छात्रवृत्ति दिँदै आएका बताए । थापाले शिक्षा विधेयकका कतिपय प्रावधान शिक्षा ऐन र कम्पनी ऐन दुवैसँग विसंगत भएको दाबी गर्दै तत्काल संशोधन गर्नुपर्ने माग गरे । थापाले सरकारले बलपूर्वक यसलाई कार्यान्वयन गर्न खोजे शिक्षा क्षेत्र कमजोर हुने खतरा रहने उल्लेख गरे ।