Skip to main content

मन्त्री पालविरुद्ध अपवाह फैलाउने दलित अभियन्ता सुनारलाई कारवाही गर्न एमाले संसदीय दलको माग

Submitted by editor on
ईबिगुल संवाददाता
खगेन्द्र सुनार

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालको बारेमा गम्भीर आरोप लगाएर सामाजिक सञ्जालमा झुटो र कपोकल्पित कुरा फैलाएको भन्दै नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले शुुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दलित अभियान्ता खगेन्द्र सुनारले प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री पालको नाम जोडेर लेखेको तथ्यहीन कुराप्रती ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

प्रदेश सचिव रणबहादुर चन्दले विज्ञप्ति जारी गर्दै सामाजिक सद्भावलाई समेत कमजोर पार्ने मनसायका साथ आएको कपोकल्पीत एवंम् भ्रामक कुराप्रती खेद व्यक्त गर्दै कानुनी कारवाही गर्न माग गरेका छन् ।

यस्तै, नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले समेत सुनारलाई कारवाही गर्न माग गरेको छ । शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्री पालविरुद्ध सामाजिक सञ्जालमा अभियान्ता सुनारले फैलाएको तथ्यहीन र भ्रमपूर्ण आरोपको भत्र्सना गरेको छ ।

बैठकले सामाजिक सञ्जालमा मन्त्री विरुद्ध अफवाह फैलाउनेहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । दलित अभियान्ता खगेन्द्र सुनारले बिहीबार फेसबुकमा स्टाटस लेख्दै करेन्ट लागेर गत साउन १७ गते ज्यान गुमाएका बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण कोलीको मन्त्री पालले गाडीले किचेर हत्या गरेको गम्भीर आरोप लगाएका थिए । 
तर सुनारले मन्त्रीको बदनाम र चरित्र हत्यागर्ने गरि लेखेको कुरामा भने कुनै सत्यता नभएको पाइएको छ ।