Skip to main content

सेनाले जारी गर्‍यो निषेधाज्ञा र कर्फ्यूको आदेश, अत्यावश्यक सेवाबाहेक अरू बाहिर निस्कन नपाइने

Submitted by editor on
ईबिगुल संवाददाता
sena

धनगढी :   नेपाली सेनाले बुधबार दिनभरि र बिहीबार पनि निषेधाज्ञा र कर्फ्यू जारी रहेको जनाएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा निषेधाज्ञा र कर्फ्यू लगाइएको सेनाले जानकारी दिएको छ।


सेनाले बुधबार बेलुकासम्म निषेधाज्ञा र बिहीबार बिहान ६ बजेदेखि कर्फ्यू आदेश जारी रहने एवम् परिस्थितिको विश्लेषणको आधारमा थप जानकारी दिने जनाएको छ। निषेधाज्ञा तथा कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु सञ्चालन हुन सक्ने सेनाले जानकारी दिएको छ। अत्यावश्यकमा सेनाले एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु चल्ने उल्लेख गरेको छ।

आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुने पनि सेनाले जानकारी दिएको छ।

अवकाश प्राप्त सैनिक लगायतका सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडी नलागी आधिकारिक सूचनाहरु मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न सेनाले भनेको छ।