Skip to main content

जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो छ युवा

Submitted by editor on
ईबिगुल संवाददाता
kkk

धनगढी :  देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता अन्त्यको माग गर्दै उठेको जेनजी आन्दोलनले सिङ्गो देशलाई तरङ्गित बनायो । यो आन्दोलनपछि देशमा नयाँ परिवर्तन देखिएको छ ।
आफ्नो करिअरको चिन्ता गर्नुपर्ने उमेरै युवाहरू देशमा बढ्दो भ्रष्टाचार बेथितिका कारण देशकै भविष्यको चिन्ता बोकेर आन्दोलनमा होमिनु परेको थियो ।
आन्दोलनका क्रममा सुदूरपश्चिमका  छ  युवाले प्राण उत्सर्ग गरेका छन् । यसरी ज्यान गुमाउनेहरूमा ५ जना आन्दोलनकारी र एक जना प्रहरी छन् । कोही पढाइको सिँढी चढ्दै थिए । कोही विदेश गएर परिवारको पेट पाल्ने अन्तिम तयारीमा थिए । कोही देशको सेवामै समर्पित थिए । आन्दोलनको भिड, अश्रुग्याँसको धुवाँ, लाठी र गोलीको वर्षाबिच उनीहरूले देखेका सपनाहरू पनि छिन्नभिन्न भए । उनीहरूको निधनपछि सात परिवारको आशाको दियो सधैँका लागि निभेको छ ।

१. भीम बहादुर धामी (३०), बझाङ
दुर्गाथली गाउँपालिका–१ का धामी काठमाडौँमा डेरा गरी बस्दै आएका थिए । राजधानीको महँगीमा संघर्ष गर्दै सानोतिनो काम गरेर गुजारा चलाइरहेका उनी देशको अवस्था सुधारिए आफ्नै गाउँ फर्किने सपना देख्थे । एक वर्षअघि उनको विवाह भएको थियो ।
धामीलाई हालैमात्र पुत्र लाभ भएको थियो । काठमाडौँको कीर्तिपुरमा आफैँ गाई पालन गरेर डेरी सञ्चालन गर्दै परिवारसँगै बस्दै आएका उनी आन्दोलनमा गोली लागेर सधैँका लागि ढले ।

२. सुवास बोहरा (२३), बझाङ
खप्तड छान्ना गाउँपालिकाका सुवास जापानी भाषा सिक्दै थिए । त्यहाँ गएर पसिना बगाएर पैसा कमाउने र आफ्नो परिवारलाई सुख दिने उनको सपना थियो । काठमाडौँमा उनीसँगै उनका भाइ पनि बस्दै आएका थिए । भाइ कक्षा ९ मा पढ्छन् ।
सुवासका बुवा पहिले नै बेपत्ता भएका थिए भने आमा भारतको बैंगलोरमा मजदुरी गरेर छोराहरूको पढाइ खर्च जुटाइरहेकी थिइन् । सुवासको मृत्युले त्यो दुःखमा बाँचिरहेकी आमा र सानो भाइको बाँच्ने आधार नै भत्काइदिएको छ ।
३. अनोज बुढा (२३), बाजुरा
बाजुराको दुर्गम स्वामीकार्तिक खापर गाउँपालिका–२, कोल्टीबाट ठुला सपना बोकेर काठमाडौँ पुगेका अनोज प्लस टु पढ्दै थिए । आफन्तको घरमा बसेर पढ्दै गर्दा उनले देशको राजनीतिलाई नजिकबाट नियालिरहेका थिए । आन्दोलनको पहिलो दिनदेखि नै सम्पर्कविहीन भएका उनको खोजीमा भौँतारिएका परिवारले अन्त्यमा उनको मृत शरीर अस्पतालमा भेट्टाए ।
४. गौरव जोशी (२६), कैलाली (धनगढी)
गोली लाग्नुभन्दा अगाडि गौरव जोशीले दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल छ । उनले भनेका थिए, ‘यो आज एकदिने आन्दोलन होइन, जहिलेसम्म हाम्रो यो माग पूरा हुँदैन, हामी सडकमा आउँछौँ । हाम्रो आफ्नो आवाज उठाउँछौँ । यो जो–जो साथीहरूलाई घाइते गरेको छ, त्यो कृपया बन्द गरियोस् । केपी शर्मा ओलीलाई म आग्रह गर्न चाहन्छु, यस्तो पावर सही युज गर्न पाउँदैन । इन्टरनेसनल ल (कानुन)मा पनि छैन । स्टुडेन्टलाई गोली हान्ने ल छैन अहिलेसम्म ।’
धनगढी उपमहानगरपालिका–१ का गौरवको जापान जाने तयारी लगभग पूरा भइसकेको थियो । देशमा भविष्य नदेखेपछि बिदेसिन बाध्य परिस्थितिमा पुगेका उनी परिवर्तनको झिल्को देखेर आन्दोलनमा सामेल भएका थिए, तर त्यही झिल्कोले उनको जीवनको दियो निभाइदियो । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा उनको निधन भयो ।
. दीपक साउद (२०), बैतडी
शिवनाथ गाउँपालिका–२ का दीपक कक्षा १२ मा पढ्दै थिए । कलिलो उमेरमै देशको अवस्थाबारे चिन्तित उनी परिवर्तनको आशामा आन्दोलनमा होमिएका थिए । साथीहरूसँगै सडकमा नारा लगाउँदा उनलाई गोली लाग्यो । उपचारकै क्रममा भदौ २७ गते बेलुका ८ बजे ट्रमा सेन्टरमा उनको ज्यान गयो ।
. उत्तम थापा, दार्चुला
उत्तम थापा नेपाल प्रहरीमा कार्यरत एक कर्तव्यनिष्ठ जवान थिए । आन्दोलनमा सहभागी आफ्नै पुस्ताका युवाहरूको भिड नियन्त्रण गर्न उनी खटिएका थिए । कर्तव्य पालनाको क्रममा भएको निर्घात कुटपिटले उनको ज्यान लियो । 
आन्दोलनमा सुदूरपश्चिमका हजारौँ युवा सक्रिय सहभागी थिए । तीमध्ये कैयौँ घाइते भएका छन्, जो काठमाडौँका विभिन्न अस्पतालका बेडमा छटपटाइरहेका छन् । उनीहरूको शरीरमा चोट छ, तर मनमा अझै पनि परिवर्तनको आगो निभेको छैन ।
आन्दोलनको सुदूरपश्चिमबाट नेतृत्व गरिरहेका जेनजी समूहका लोकेन्द्र साउद अहिले घाइतेहरूको रेखदेख र उपचारमा खटिएका छन् । ‘हामीले शान्तिपूर्ण आन्दोलन चाहेका थियौँ, तर राज्यले हामीमाथि दमन ग¥यो । आज सात घर उजाडिएका छन्, सात परिवारका सपना खरानी भएका छन् । अहिले आन्दोलनपछि गठन भएको सरकारले मृतकलाई सहिद घोषणा गरेर १५ लाख दिनुमात्र पर्याप्त होइन,’ उनले भने, ‘यो रगतको मूल्य पैसाले चुकाउन सकिँदैन । उनीहरूले देखेको नयाँ नेपालको सपना पूरा गर्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’
नयाँ सरकार गठनसँगै चुनावको मिति घोषणा भइसकेको छ । यो चुनाव सरकार बनाउने प्रक्रियामात्र हुनेछैन, यो जेनजी आन्दोलनका सहिदहरूको बलिदानको सम्मान गर्ने अवसर पनि हुने साउदको भनाइ छ ।

यसअघि यस समाचारमा कञ्चनपुरका मुकेश अवस्थीको नामसमेत सूचीमा समावेश भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।  -सम्पादक *