Skip to main content

सुदूरपश्चिमबाट अमिलोको बोक्रा जर्मन निर्यात

Submitted by editor on
शिवराज भट्ट
 कैलालीको चुरे

फल्टुडे (कैलाली) : नेपालमा रोजगारी छैन भनेर विदेश जानेहरुको लर्को लागि रहेको छ तर कैलालीको चुरेका दिवाकर योगी यतै सम्भावना खोजिरहेका छन ।

चुरे क्षेत्रमा फल्ने सिजन अनुसारको अचार बनाउने, अर्गानीक पहाडी उत्पादनहरु प्रसोधन गरेर उनी खाडी मुलक जाने युवाहरु भन्दा चार गुण बढी आम्दानी गरिरहेका छन । कैलालीको चुरे गाउपालिकामा पर्ने भीमदत्त पन्त राजमार्गको फल्टुडेमा छ, हाम्रो अचार उद्योग तथा फलफूल प्रसोधन केन्द्र । राजमार्गमै उद्योगको बोर्ड लगाइएको छ । 

बुवा हरिशंकर योगीले २०६१ साल देखि अचार बनाउने कामबाट सुरु गरेको ब्यवसाय, अहिले छोरा दिवाकर योगीले अत्याधुनीक प्लान्ट जडान गरेर अचार र अमिलो (चुक) उत्पादन गरिरहेका छन । 

योगीको उद्योगमा सिजन अनुसार लसुनको अचार, आँपको अचार, अमीलो र खुर्सानीको अचार, सिस्नुको पाउडर, तेजपत्ता, कागतीको रस लगायतका थुप्रै अर्गानीक उत्पादनहरु पाईन्छन ।

‘बुवाले अचारबाट सुरु गर्नु भएको हो, अहिले अमिलो (चुक) पनि उत्पादन गरिरहेको छु । चुक भन्दा पनि बोक्राबाट बढी फाईदा छ’ दिवाकरले भने । ‘चुकको बोक्रा जर्मन निर्यात भईरहेको छ ।’

दिवाकरका अनुसार अमिलो १० लिटर रस पकायो भने १ लिटर मात्रै चुक निस्कन्छ । तर सुकाएको बोक्रा भने २५० रुपैया किलो विक्रि भईरहेको छ । ‘अमिलोको दाना किनेर चुक बनाएर विक्रि गर्नमा खासै फाईदा छैन तर बोक्रा विक्रि हुन थालेपछि राम्रो फाईदा हुने गरेको छ’ दिवाकरले भने ।

उनीबाट अमिलोको बोझा सुर्खेतको एउटा अर्बल कम्पनीले किलोको २५०का दरले किन्छ । दिवाकर भन्छन, ‘त्यो सबै बोक्रा जर्मन जान्छ । त्यहाँ त्यो बोक्रा हर्वल चियाका लागि प्रयोग हुन्छ भन्ने सुनेको छु ।’

अहिले अमीलोको सिजन हो । कैलालीका चुरे, जोरायल र मोहन्याल गाउपालिका, डडेल्धुरा, बैतडी र दार्चुलाबाट समेत अहिले उनको उद्योगमा किसानले अमिलोका दाना ल्याई रहेका छन । 

२०६४ सालमा रिज्म एफपीले उनलाई अचार बनाउने र चुक बनाउने मेसिन सहयोग गरेपछि उनी अर्गानीक उत्पादनमा ब्यवसायीक रुपमा लागेका हुन । गाउँघरमा चुक बनाउदा सामान्य तया परम्परागत काठको कोल्हुमा पेलेर तामाको भाँडामा दाउराले पकाउने गरिन्छ तर योगीको उद्योगमा अचार बनाउने र पकाउने आधुनीक मेसिन राखिएको छ । 

त्यसमा स्टीमबाट पकाउने गरिन्छ । आफ्नो रोजगारी मात्रै होईन, योगीको उद्योगमा सिजन अनुसार १५÷२० जना स्थानीय महिलाहरु पनि रोजगारी पाउने गरेका छन । ‘आपको सिजनमा आम खुर्सिन आउछौं, लसुन र खुर्सानीको पनि सिजन हुन्छ । अहिले अमीलो खुर्सिन आएका छौं’ अमिलोको बोझा निकाल्दै गरेकी फल्टुडेकी खगिसरा रसाईलीले भनिन ।

चुकको बोक्रा निकाल्न योगीको यद्योगमा १५÷२० जना महिला आएका थिए । अमिलो खुर्सिदै गरेकी अर्की महिला कौसिला रसाईलीले भनिन, ‘एक क्रेट अमिलो खोर्सको सय रुपैया हुन्छ । सक्नेले दिनमा ८ क्रेट पनि बनाउछन । सिजन अनुसारको राम्रो रोजगारी भएको छ ।

योगीको उद्योगमा स्थानीय किसानको अमिलो, आँप, कागती, लसुन, सिस्नु र खुर्सानी पनि आउछ । उनको उद्योगका कारण स्थानीयको उत्पादनले बजार पाएको छ । गाउँका किसान उनको उद्योगमा भारी बोकेर मौसम अनुसारको कृषि उपज ल्याउने गरेका छन ।
स्थानीय चण्डिका रानामगर भन्छिन, ‘गाउँको उत्पादन गाउँमै विक्रि गर्न पाएकाले सजिलो भएको छ । खुर्सानी, लसुन, आम, अमिलो, कागती, तेजपत्ता, सिस्नु सबै गाउँमै विक्रि हुनेगर्छ ।’

दिवाकरले उद्योगमा एक करोड लगानी गरेका छन । उनका बुवा हरिहर योगीले २०६४ सालमा राष्ट्रिय स्तरको उत्कृष्ट खाद्य उद्यमी तथा ब्यवसायी पुरुस्कार पनि पाईसकेका छन । बुवाको कामलाई आधुनीक रुपमा अगाडी बढाएका दिवाकर, पहाडमा पनि स्वरोजगारको प्रचुर सम्भावना छ भन्ने उदाहरण बनेका छन ।