Skip to main content

मौसमको खराबीका कारण दुई दिनदेखि धनगढीको हवाई सेवा अवरुद्ध

Submitted by editor on
ईबिगुल संवाददाता
हवाई सेवा प्रभावित

धनगढी : धनगढीको मौसममा आएको खराबीका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण शनिबार धनगगढी–काठमाण्डौंको कुनै पनि उडान भएन भने शुक्रबार धनगढी–काठमाण्डौं एउटा मात्र उडान भएको थियो । ल्यान्डिङका लागि विमानस्थल नखुलेका कारण काठमाण्डौंबाट उडने ६ वटा उडानहरु रद्ध भएका हुन ।

श्री एयरलाईन्सको विहीबार देखि धनगढीमै रहेको जहाज मात्रै शुक्रबार दिउसो काठमाण्डौंका लागि उडेको हो । शुक्रबार पनि विहान ७ः१५ बजेको उडान तालिकामा रहेको जहाज बाक्लो हुस्सुका कारण विमानस्थल नखुलेपछि दिउसो १ बजेपछि मात्रै उडेको श्री एयरलाईन्सका धनगढी शाखा म्यानेजर गजेन्द्र शाहीले बताए ।

धनगढीबाट उडान भर्नका लागि भने एक हजार मिटरसम्म विमानस्थल आँखाले देखिने हुनुपर्छ भने जहाज अवतरणका लागि कम्तीमा पनि १७ सय मीटरसम्म देखिने वातावरण चाहिन्छ । शुक्रवार अवतरणका लागि आवश्यक १७ सय मिटर नपुगेकाले काठमाण्डौंबाट कुनै पनि जहाज धनगढी नआएको विमानस्थलका टावर प्रमुख दिपक भट्टले जानकारी दिए ।

शनिबार पनि बाक्लो हुस्सुका कारण विमानस्थल खुलेका छैन । विमानीथल नखुलेपछि काण्ठमाण्डौंबाट धनगढीका लागि उडने सबै ६ वटा उडानहरु रद्ध भएका छन । बुद्ध एयरका २ वटा र श्री एयरका ४ वटा गरी सबै उडान रद्ध भएका विमानस्थलले जनाएको छ ।