Skip to main content

विद्यालय भवनमा २ वर्षदेखि ताला, चिसो ढुंगामा बसेर पढछन बालवालिका

Submitted by editor on
ईबिगुल संवाददाता
कृष्ण बिष्ट
विद्यार्थीहरु खुला चौरमा

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित गड्देव आधारभूत विद्यालयको भवन निर्माणको क्रममा देखिएको विवादका कारण डेढ वर्षदेखि विद्यार्थीहरु खुला चौरमा बस्न बाध्य छन् । 

२०७९ साउनमा निर्माण सम्पन्न भएको भवनको लागत अनुसारको भुक्तानी नदिएको भन्दै निर्माण ब्यवसायी केशव सिंह घटालले विद्यालयमा ताला लगाएका छन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण सम्पन्न भएको चार कोठे भवनमा डेढ वर्षदेखि ताला लगाइएको छ ।
२०७८ साल कार्तिक पहिलो साता पहिरोले पुरानो विद्यालय भवन भत्किएको थियो । त्यसपछि विद्यार्थीहरु बाहिर खुला चौरमा बस्दै आएका थिए । भवन निर्माण सम्पन्न भएको डेढ वर्षसम्म पनि विद्यालयमा ताला लागेपछि विद्यार्थीहरु अझै पनि बाहिरै बसेर पढ्न बाध्य छन् । 

पहिरोले विद्यालय भवन भत्काएपछि हालसम्म बालबालिकाहरु भवनभित्र बस्न नपाएको शिक्षक भानु जोशीले बताइन् । ‘२०७८ सालको कार्तिकमा पहिरोले सबै भवन भत्किए, त्यसपछि नयाँ भवन बन्यो, भुक्तानीको विवादले ताला खुलेको छैन, २ वर्षदेखि हालसम्म विद्यार्थीहरु बाहिरै बसिरहेका छन’ साउँदले भनिन् । शिशुका बालबालिकाहरु चिसो ढुंगामै बसेर पढ्ने गरेको उनले बताइन् । 

मौसम प्रतिकुलको समयमा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । ‘गर्मीयाममा निकै गर्मी हुने ठाउँ हो, हामीले गर्मीयाममा केही दिन विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ, पानी परेको दिन पढाई हुदैन, विद्यालयका कागजात झोलामा राखेर प्रशानीक कामकाज भईरहेको छ । शैक्षिक सामाग्री अभाव छ,’ विद्यालयका प्रद्यानाध्यापक निराजन जोशीले भने ।  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन निर्माणको लागि ३६ लाख रुपैया बजेट आएको थियो । तर निर्माण समितिले भवन निर्माण सम्पन्न हँुदासम्म ६९ लाख ६६ हजार रुपैया खर्च भएको दाबी गरेको छ । गाउँपालिकाले विद्यालयसँग सम्झौता गरेको ३६ लाख रुपैया भुक्तानी गरिसकेको छ । तर निर्माण ब्यवसायीले भने लागत अनुसारको भुक्तानी दाबी गर्दै आएका छन ।

गाउँपालिकाको प्राबिधिक मुल्याङ्कनबाट ५८ लाख २३ हजार ७१८ रुपैयाको काम भएको देखाएको छ । कामदारको ज्यालाको रकम कम राखिएको र छड लगायतका सामाग्री बढी लागेकाले कूल लागत ६९ लाख रहेको निर्माण कम्पनीको दावी छ । तर गाउँपालिकाको प्राबिधिक टोलीले उठाएको एमबी अनुसार पनि भुक्तानी भएको छैन । 

जनप्रनिधिहरुले बेलाबेला लागत अन्ुसारको भुक्तानी दिने आश्वासन दिने गरेका छन । ‘गाउँपालिका अध्यक्षले समेत काम सम्पन्न गर्नुहोस, लागेको रकम दिउँला भनेका हुन्, उपाध्यक्षले समेत ब्यवस्थापन समितिको  बैठकमा लागत अनुसारको भुक्तानी हुनुपर्छ भन्नु भएको छ, तर झुक्तानी हुदैन’ निर्माण ब्यवसायी केशव सिंह घटालले भने । 

निर्माणको जिम्मा पाएका घटालले विद्यालयबाट आफुले कामको जिम्मा लिदा लागत नखुलाएको बताएका छन् । ‘मलाई विद्यालय व्यवस्थापन समितिले कामको जिम्मा दिएको हो, त्यतिबेला रकम उल्लेख थिएन, बिनियोजन बजेट अनुसार काम नभएको जानकारी दिदा जनप्रतिनिधिहरुले काम गर्दै जानु भुक्तानी भईहाल्छ भने’ घटालले भने । 

जनप्रनिधिहरुले विद्यालयको भवन निर्माणका क्रममा लागेको लागत दिनुपर्नेमा सहमती जनाएको पनि पाइएको छ । वडाका निवर्तमान जनप्रतिनिधि र हालका जनप्रतिनिधिहरुले ब्यवस्थापन समितिको बैठकमा भवन निर्माणको रकम, लागत अनुसार दिनुपर्ने लिखतमा साँची बसेका छन् । तर हालसम्म भुक्तानी हुन सकेको छैन ।

आफ्नो ब्याक्तिगत रुपैया लगाएर विद्यालयको भवन बनाएको र हालसम्म १५ लाख रुपैयाको ब्याज तिर्दै आएको घटनालको दुःखेसो छ ।
सम्झौताभन्दा बढी काम गरेका कारण लागत अनुसार भुक्तानी नभएको पञ्चेश्वर गाउँपालिका प्राबिधिक घनश्याम मौनीले बताए । ‘विद्यालय सँग भएको सम्झौता भएभन्दा बढी काम भएको छ, जनप्रतिनिधिहरुले पनि आश्वासन दिएका रहेछन्,’ उनले भने ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा अपुग रकममा पालिकाले थप्नसक्ने व्यवस्था छ । सोही बमोजिम कार्यपालिबाट निर्णय हुन सकेको छैन । वडा नं १ का वडा अध्यक्ष दिवान सिंह सार्कीले यस विषयमा कार्यपालिकामा बेलाबेला कुरा उठाएको भएपनि सुनुवाई नभएको बताए । 

सम्झौता अनुसारको भुक्तानी भइसकेको र भनिएजती लागत अनुसारको भुक्तानी दिन नसकिने गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द बताए । ‘निर्माणको लागत ६९ लाख भनिएको छ, त्यती रकम दिन सकिदैन, सम्झौता अनुसार दिइसकेका छौँ, मैले कसैले आश्वासन पनि दिएको छैन ।’ अध्यक्ष चन्दले भने ।