Skip to main content

गेटा अस्पताल : चार महिना देखि ७४ प्रतिसत दरबन्दी खाली

Submitted by editor on
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ जना चिकित्सक सहित १४१ जना स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । तर १४१ जनाको दरबन्दीमा १०५ जनाको दरबन्दी खाली छ ।
शिवराज भट्ट
गेटा अस्पताल : चार महिना देखि ७४ प्रतिसत दरबन्दी खाली

धनगढी : सोमबार मात्रै राष्ट्रिय सभाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० पारित गरेको छ । तर गेटामा कार्तिक १ गते देखि सुरु भएको एक सय शैयाको अस्पतालको अवस्था भने नाजुक बन्दै गएको छ । 

अस्पतालका दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र कर्मचारीको आपुर्ती गरिएको छैन भने सञ्चालन हुँदाका बेलाका सुरु गरिएका सेवा बाहेक अरु कुनै पनि सेवा थप गरिएको छैन । स्वास्थ्य चौकीको जत्तीको पनि सेवा सुविधा नपाएपछि विरामीहरुको चाप बढन सकेको छैन । 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० सालको भदौ  १२ गते र असोज १६ गते गरी दुुई चरणमा गेटा अस्पतालका लागि २१ जना चिकित्सक सहित १४१ जना स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । तर १४१ जनाको दरबन्दीमा १०५ जनाको दरबन्दी खाली छ । मंगलबार अस्पताल प्रशासनले दिएको विवरण अनुसार ६ जना विषेशज्ञ चिकित्सकहरु नै दरबन्दीमा आएका छैनन । 

बरिष्ठ कन्सल्टेन्ट सर्जन, बरिष्ठ कन्सल्टेन्ट पेड्रीयाट्रीसियन, बरिष्ठ कन्सल्टेन्ट फिजिसियन, बरिष्ठ कन्सल्टेन्ट गाईनोकोलोजिस्ट, बरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट र बरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक्सको दरबन्दीको सुरु भएदेखि नै खाली छ ।
मेडिकल अधिकृतको दरबन्दीमा आएका तर एमडी गरिसकेका केही चिकित्सहरुले दिएको शेवालाई अस्पतालले विषेशज्ञ सेवा भनेर प्रचार गरिरहेको छ । १२ जनाको मेडिकल अधिकृतको दरबन्दीमा ५ जनाको दरबन्दी खाली छ । 

अस्पताल ब्यवस्थापकको पद पनि खालि भएकाले ब्यवस्थापनको पाटो अन्योलमा परेको छ । ४० जना स्टापनर्सको दरबन्दीमा ३ जना मात्रै कार्यरत रहेका छन भने ३७ जनाको दरबन्दी अस्पताल सञ्चालन भएदेखि नै खाली रहेको छ । 

अस्पतालमा हुनुपर्ने रेडियोग्राफी टेक्नोलोजिस्ट, फिजियोथेरापी अधिकृत, सर्भिलेन्स अधिकृतका दरबन्दी पनि खाली छन । ९ जना अ‍ेल्थ असिस्टेन्टको दरबन्दीमा एक जना मात्रै कार्यरत छन । १४ जनाको कार्यालय सहयोगीको दरबन्दीमा ३ जना, १० जना स्वीपरको दरबन्दीका २ जनामात्रै कार्यरत रहेका छन । 

गेटा अस्पताल २०८० सालको कार्तिक १ गते देखि सुरु भएको हो । अस्पताल सुरु हुने बेला अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले सावर्जजनिक गरेका कार्ययोजना एउटा पनि पुरा भएको छैन ।

मंसिरभीत्र सुरु गर्ने भनिएको खोप सेवा पूूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । मंसिरभीत्र सुरु गर्ने भनिएको बीमाबाट प्राप्त सेवा सुुचारु हुन सकेको छैन । निर्देशक डाक्टर जोशीले सार्वजनिक गरेको कार्ययोजना अनुसार मंसिरभीत्र सुरु हुनुपर्ने अंतरंग सेवा सुचारु भएको छैन ।पुसमा गर्ने भनिएको ईमरजैन्सी र प्रसुती सेवा सुचारु भएको छैन । 

अस्पतालले चैतभीत्र सल्यक्रिया सेवा र बैशाखभीत्र आईसीयुतथा एनआईसीयु सञ्चालन गर्ने भनेको थियो । तर अहिलेसम्म मंसिरमै सम्पन्न गर्नुपर्ने सेवा  सुचारु नभएकाले सल्यक्रिया सेवा र आईसीयु तथा एनआईसीयु सञ्चालन हुनेमा विश्वस्त हुने आधार छैन ।