Skip to main content

गेटा अस्पताल सञ्चालनमा लापरवाही : अस्पतालको भवन बुुझ्न आनाकानी

Submitted by editor on
शिवराज भट्ट
अस्पतालको भवन बुुझ्न आनाकानी

धनगढी : गेटा मेडिकल कलेज पुर्वाधार निर्माण समितिले गेटा अस्पताललाई भवन बुुझ्नका लागि पत्राचार गरेको एक महिना भयो । तर अस्पतालले अझै भवन बुुझेको छैन । भवन स्वामित्वमा नआउदा अस्पतालका सबै बाँकी कामहरु अलपत्र परेका छन ।

गेटा मेडिकल कलेज पुर्वाधार निर्माण समितिले ६ सय शैयाको अस्पताल भवन, अक्सिजन प्लान्ट भवन, लाउन्ड्री भवन, उपकरण निर्मुलीकरण गर्ने भवन (अटोक्लेव भवन), विरामीको कुरुवा भवन र शव गृह बुुझ्न भन्दै अस्पताललाई माघको पहिलो हप्ता पत्र काटेको छ ।

‘अस्पतालका लागि आवश्यक पर्ने यी सबै भवनहरु निर्माण भईसकेका छन । हामीले बुुझ्नका लागि पत्राचार गरेको पनि एक महिना भयो, तर अस्पतालका प्रमुख नभएकाले हस्तान्तरण हुन सकेको छैन’ गेटा मेडिकल कलेज पुर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक बैकुण्ठ सुवेदीले भने । 

अस्पतालले डाक्टर विप्लव सापकोटाको नेतृत्वमा डाक्टर शंकर अधिकारी, शाखा अधिकृत खगेन्द्रराज जोशी, लेखा अधिकृत मदनराज पाण्डे, सिनियर अहेव नैनसिह कार्की, नर्सिङ अधिकृत मञ्जु ऐर र बायोमेडिकल ईन्जिनियर हरेन्द्र चटौत सहितको भवन रुजु समिति गठन गरेको छ । 

‘समितिले भवन, भवनमा जडान भएका फर्निचर र अन्य सामानहरु सबै रुजु गरिसकेको २ हप्ता भईसक्यो तर निर्देशक जोशी कार्यालयमा नआएका कारण हस्तान्तरण प्रकृया अगाडि बढन सकेको छैन । डाक्टर साप आउने वित्तिकै भवनहरु हस्तान्तरण हुन्छन’ प्रशासन शाखाका अधिकृत खगेन्द्रराज जोशीले भने ।

अस्पतालको स्वामीत्वमा भवन नआएका कारण, कुनै पनि उपकरणको खरिद हुन सकेका छैनन । नेपाल सरकारले चालु आर्थिक वर्षमा गेटा अस्पतालका लागि ८४ करोड रकम विनियोजन गरेको छ । तर भवनहरु स्वामित्वमा नआएको भन्दै अस्पताल प्रशासनले कुनै पनि उपकरण खरिद गरेको छैन भने आईसीयु, एनआईसीयु सेटअप गर्न सकेको छैन । 

‘खरिदको टेन्टर गर्दा त्यो सामान कता जडान गर्ने भन्ने कुराको पनि ग्यारेन्टी हुनुपर्छ । भवन हाम्रो स्वामीत्वमा आएको छैन । त्यसैले उपकरण खरिद हुन सकेको छैन’ अस्पतालका बायोमेडिकल ईन्जिनियर हरेन्द्र चटौतले भने । ‘अस्पतालको भवन हस्तान्तरण नहुँदासम्म हामीले केही पनि गर्न मिल्दैन ।’

अस्पतालको भवन हस्तान्तरणका लागि २ हप्ता ढिलो भएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले स्वीकार गरे । ‘म काठमाण्डौंमा भएकाले भवन हस्तान्तरणमा दुुई हप्ता ढिलो भएको छ, तर अब सोमबारसम्म म फर्कि हाल्छुु, त्यसपछि भवन हस्तान्तरण पनि हुन्छ, त्यसको केही दिनमै कर्मचारी पदपूर्तीको काम पनि अघि बढछ’ निर्देशक जोशीले भने ।

जोशी सुरुवात देखि नै गेटा अस्पताल सञ्चालनका लागि निर्देशक नियुक्त भएका थिए । भवन हस्तान्तरण नभएकै कारण यसअघि उपकरणका लागि गरिएको टेन्डर पनि विवाद आएपछि रद्ध गरिएको थियो ।