Skip to main content

अलमलमै गेटा अस्पताल : निर्देशक जोशी चार महिनामा २२ दिन मात्रै हाजिर

Submitted by editor on
अस्पतालका निर्देशक प्रमोद जोशी कार्तिकमा ३ दिन, मंसिरमा ७ दिन, पुसमा ८ दिन र माघमा ४ दिन गरी चार महिनामा २२ दिन मात्रै हाजिर छन ।
शिवराज भट्ट
निर्देशक जोशी चार महिनामा २२ दिन मात्रै हाजिर

धनगढी : कैलालीको गेटा अस्पताल सञ्चालनमा चरम लापरवाही देखिएको छ । अस्पताल सञ्चालनका लागि खटिनुपर्ने अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशी नै कार्तिक देखि माघ मसान्त सम्मको चार महिनामा २२ दिन मात्रै अस्पतालमा हाजिर देखिएका छन ।

अस्पताल प्रशासनले दिएको जानकारी अनुसार निर्देशक डाक्टर जोशी अस्पताल सञ्चालन भएकै महिना अथवा कार्तिकमा ३ दिन, मंसिरमा ७ दिन, पुसमा ८ दिन र माघमा ४ दिन मात्रै कार्यालयमा बसेका छन ।

कार्तिकको २२ गते देखि १५ गतेसम्म काज मिलाएका डाक्टर जोशीले  अस्पताललाई समय दिन नचाहेको अस्पतालभीत्रकै कर्मचारी बताउछन । प्रशासन शाखाले दिएको जानकारी अनुसार उनी मंसिरको २१ गतेदेखि  पुसको २८ गतेसम्म सेवाकालिन तालिम भनेर काजमा काठमाण्डौं गएका छन । 

माघमा ४ दिन मात्र हाजिर भएका निर्देशक जोशीले अस्पतालको कामका लागि भन्दै माघ १९ गतेदेखि भने काज मिलाएका छन । ‘सुदूरपश्चिममा कोही विश्वविद्यालय भन्छन, कोही प्रतिष्ठान तर सुरु भएको सय शैयाको अस्पतालको अवस्था यस्तो छ’ एक जना स्वास्थ्यकर्मीले भने । 

तर निर्देशक जोशीले भने संघीय अस्पताल भएकाले हरेक कामका लागि काठमाण्डौं जानुपर्ने बाध्यता रहेको बताए । ‘नयाँ नयाँ अस्पताल छ, त्यसको हरेक कामका लागि काठमाण्डौं आउनुपर्छ । यसपाली म उपकरण खरिदका लागि योजना महाशाखासँग छलफलका लागि आएको हुँ’ निदेशक जोशीले भने ।

उनले ब्यवस्थापनमा भएको मान्छेले अफिसमै नबसे पनि हुने बताए । ‘हामीले ब्यवस्थापन गर्ने हो, सबै कुराका लागि संघीय राजधानी आउनुपर्छ’ निर्देशक जोशीले भने । 

केही दिनयता डाक्टर जोशी गेटा अस्पतालबाट सुरुवा मागिरहेको पनि चर्चा चलेको छ । उनको नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा सरुवा हुने हल्ला चलेपछि उनले त्यो हल्ला मात्रै भएको बताए ।

‘निर्देशक नियुक्ति भएका बेला एकजना कार्यालय सहयोगी पनि थिएन, अहिले दरबन्दी स्वीकृत भएको छ । केही उपकरणहरु आएका छन । ओपिडि भएपनि सञ्चालनमा छ’ निर्देशक जोशीले भने ।

तर जोशीले भनेजस्तै अस्पतालका लागि आएको ८४ करोडको रकम ‘ब्रेकडाउन’  भएको छैन भने अस्पताल उद्घाटनका बेला भनिएका सेवाहरु सञ्चालन हुन सकेका छैनन । कम्तीमा पनि ३ सय शैयाको अस्पताल सुरु हुने आशामा बसेका सुदूरपश्चिमका जनता सय शैया हुँदा नै निरास भएका थिए । झन त्यसैमा अहिले अस्पतालमा पनि सेवा बृद्धी नभएपनि निरासा बढदै गएको छ ।