Skip to main content

एमाले नेता रावलले गराए दार्चुलाका पुरातात्विक महत्वका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

Submitted by editor on
ईबिगुल संवाददाता
प्रधानमन्त्रीको ध्यानाकर्षण

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिह रावलले दार्चुलाका पुरातत्व महत्वका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन । 

विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पत्र सम्प्रेषण गर्दै नेता रावलले दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं. ६ उकु, श्रीमहलस्थित हरिहर मन्दिरका भग्नावशेषहरु यत्र–तत्र, सर्वत्र छरिएर अलपत्र अवस्थामा रहेको र तीनको ंसरक्षणको ब्यवस्था गराउन माग गरेका छन ।

‘शक सम्वत १२५७–१३१५ बीच तत्कालिन डोटी राज्यका रैका शासकहरु (कत्युरी राजवंशका वंशज) द्धारा निर्मित हरि र हरको संयुक्त आराधना हुने यो पुरातात्विक धरोहरमा भेटिएको मध्यकालीन शिलालेखमा नाग मल्लकी आमा सोममल्लदेवी र रानीहरु लोमल्लदेवी तथा रल्लदेवीको नाम उल्लेखित भएको पाइन्छ’ प्रधानमन्त्रीलाई सम्प्रेषित पत्रमा उल्लेख छ ।

उनले यस स्थलमा जीर्ण अवस्थामा छरिएर रहेका पुरातात्विक अवशेषहरु मध्ये मूर्तिकलाको तुलनात्मक अध्ययन गर्दा यी अवशेषहरु जागेश्वर र बैजनाथ उत्तराखण्डको वास्तुकला सँग तुलनीय रहेको उल्लेख गरेका छन । मन्दिरका भत्केका अवशेषहरुमा हात्ती, बाघ, चराहरु साँढे र छेपारोका आकृतिहरु कुदिएका छन् । 

धनबज्र रत्न अमात्यले नृत्य मुद्रामा शिव, हरिहर, सिंहवाहिनी, दुर्गाका साथै काली, लक्ष्मी, भगवती र महाकालीको वर्णन गर्नुभएको छ । उनका अनुसार यी मन्दिरका अवशेषहरु पुण्य मल्ल, नाग पाल र सोमल्ल देवीको उकुस्थित शिवालयमा रहेको शाके १२५७ को पुण्य पाल (मल्ल) को शिलालेख भन्दा पनि पूर्ववर्ती हुन भन्ने उहाँको ठहर छ । 

तेह्रो र चौधौं शताव्दी पूर्वको उकुको यो स्थल शैव, शक्ति र वैष्णवहरुको अत्यन्त महत्वपूर्ण धरोहर मानिन्छ । हरिहरका यी मूर्तिहरु बाल्मिकीनगर र सिम्रोनगढको मूर्तिकला समतुल्य रहेका छन्  । यिनीहरु हर्षवर्धन कालको मूर्तिकलासँग मेल खान्छन । त्यसैगरी दुई देव हरि र हरलाई एउटै आकृतिमा कोर्ने कठिन कामलाई तत्कालीन कलाकारले बुद्धिमत्तापूर्वक मूर्तिकलाका रुपको साँचोमा ढालेका छन् । 
उक्त मूर्तिहरु समग्रतामा खजुराहो र पश्चिम भारतीय वास्तुकलासँग समेत मेल खाने गर्दछन । मूर्तिकला र वास्तुकलाको यो अनुपम सौगातले सुदूरपश्चिम प्रदेशको वैभवलाई शेष विश्व सामु प्रस्तुत गर्न सक्दथ्यो । 

तर बिडम्बना राजधानी काठमाडौं र त्यस वरपर रहेका पहूँचवाला समुदायहरुको १०० वर्ष पुगेका सम्पदाहरु अन्र्तराष्ट्रिय र राष्ट्रिय सुचिमा दर्ता भएका छन् । ‘ती सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विकासका लागि युनेस्को, नेपाल सरकार, पुरातत्व विभाग र प्रदेश सरकारहरुको ध्यान जान जरुरी छ’ प्रधानमन्त्रीलाई सम्प्रेषित पत्रमा उल्लेख छ ।

नेता रावलले आगामी वर्षको बजेटमा उक्त पुतातात्विक महत्वका विषयको संरक्षणका लागि बजेट विनियोजन गर्न पनि माग गरेका छन । ‘जिवित र जिवन्त संग्रहालयका रुपमा रहेको यो स्थललगायतका सुदूरपश्चिमका अन्य पुरातात्विक स्थलहरु समेतको पहिचान, संरक्षण, सम्वद्र्धन, विकास र प्रर्वद्धनको नीति निर्माण सहित बजेट व्यवस्था गरी तत्कालिन प्रविधि अनुरुप पुर्ननिमार्ण कार्यका लागि आगामी वर्षको बजेट मार्फत कार्यारम्भ गरियोस् भनि जोड्दार माग गर्दछ’ पत्रमा उल्लेख छ ।

नेता रावलले उकु पुरातात्विक स्थलमा जिर्ण अवस्थामा रहेका सम्पदाको अवशेषहरुको मिति २०८० साल माघ २८ गते स्थलगत अवलोकन गरी खिचिएका तस्विरहरु समेत प्रधानमन्त्रीलाई पठाएका छन ।