Skip to main content

धनगढी उपमहानगरको क्यान्सर स्क्रिनिङ्ग शिविर, २ सय ८३ जनाले लिए निःशुल्क सेवा

Submitted by editor on
ईबिगुल संवाददाता
क्यान्सर स्क्रिनिङ्ग

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले क्यान्सर स्क्रिनिङ्ग स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार उपमहानगरले वडा नम्बर १९ को फूलवारी स्वास्थ्य चौकीमा एक दिने शिविर सम्पन्न गरेको हो । 

उपमहानगरले नेपालगञ्जको खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समन्वयमा क्यान्सर स्क्रिनिङ्ग स्वास्थ्य शिविर सञ्चालन गरेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए ।

क्यान्सर स्क्रिनिङ्ग शिविरमा २ सय ४७ जना महिला र ३६ जना पुरुष गरी २ सय ८३ जनाले निःशुल्क सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । शिविरमा सेवा लिएका मध्ये १४ जना महिला पाठेघरको मुखको क्यान्सरको शंकास्पद बिरामी भेटिएको, १८ जना महिलामा पाठेघरको मुखमा घाउ भएको, तीन जना महिलाको पाठेघर खसेको उनले बताए ।

शिविरमा २ जनामा क्यान्सरका पूर्ण शंकास्पद बिरामी भेटिएको तथा ३ जना क्यान्सरका पुराना बिरामीले समेत सेवा लिएको उनले बताए । शिविरमा सेवाग्राहीलाई क्यान्सरबाट बच्न सकिने जीवन पद्धति अपनाउन परामर्शसमेत गरिएको थियो ।