Skip to main content

अलमलमै गेटा अस्पताल : निर्देशक जोशीले काठमाण्डौंमै मिलाए सरुवा

Submitted by editor on
शिवराज भट्ट
अलमलमै गेटा अस्पताल ः निर्देशक जोशीले काठमाण्डौंमै मिलाए सरुवा

धनगढी : ४ महिनाको अवधीमा २२ दिन मात्रै अस्पतालमा हाजिर भएका गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले अन्ततः काठमाण्डौं सरुवा मिलाएका छन । 

आईतबारको मन्त्रीपरिषदको बैठकले निर्देशक जोशीलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा जोशीले त्यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए भने त्यसपछि उनलाई गेटा अस्पतालको निर्देशक बनाएर पठाईएको थियो । 

परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो । रिक्त रहेको उक्त पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो ।

जोशीले गेटामा आएपछि कार्यालयमा नबस्ने र अस्पताल सञ्चालन भएका बेला सार्वजनिक गरिएका कार्ययोजना अनुसार काम नगरेको आरोप लाग्दै आएको थियो । निर्देशक जोशी कार्तिक देखि माघ मसान्त सम्मको चार महिनामा २२ दिन मात्रै अस्पतालमा हाजिर देखिएका थिए ।

अस्पताल प्रशासनले दिएको जानकारी अनुसार निर्देशक जोशी अस्पताल सञ्चालन भएकै महिना अथवा कार्तिकमा ३ दिन, मंसिरमा ७ दिन, पुसमा ८ दिन र माघमा ४ दिन मात्रै कार्यालयमा बसेका थिए ।

कार्तिकको २२ गते देखि १५ गतेसम्म काठमाण्डौं काज मिलाएका डाक्टर जोशीले  अस्पताललाई समय दिन नचाहेको अस्पतालभीत्रकै कर्मचारीले बताएका थिए । उनले अस्पतालको कामका लागि भन्दै माघ १९ गतेदेखि काज मिलाएका थिए । उनी त्यसपछि भने गेटा अस्पताल फर्केनन ।

निर्देशक जोशीको लापरवाहीका कारण अस्पतालका लागि आएको ८४ करोडको रकम ‘ब्रेकडाउन’  भएको छैन भने अस्पताल उद्घाटनका बेला भनिएका सेवाहरु सञ्चालन हुन सकेका छैनन । 

कम्तीमा पनि ३ सय शैयाको अस्पताल सुरु हुने आशामा बसेका सुदूरपश्चिमका जनता सय शैया हुँदा नै निरास भएका थिए । झन त्यसैमा अहिले अस्पतालमा पनि सेवा बृद्धी नभएपनि निरासा बढदै गएको छ ।

मंसिरभीत्र सुरु गर्ने भनिएको खोप सेवा पूूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । मंसिरभीत्र सुरु गर्ने भनिएको बीमाबाट प्राप्त सेवा सुुचारु हुन सकेको छैन । निर्देशक डाक्टर जोशीले सार्वजनिक गरेको कार्ययोजना अनुसार मंसिरभीत्र सुरु हुनुपर्ने अंतरंग सेवा सुचारु भएको छैन । पुसमा गर्ने भनिएको ईमरजैन्सी र प्रसुती सेवा सुचारु भएको छैन । 

अस्पतालले चैतभीत्र सल्यक्रिया सेवा र बैशाखभीत्र आईसीयुतथा एनआईसीयु सञ्चालन गर्ने भनेको थियो । तर अहिलेसम्म मंसिरमै सम्पन्न गर्नुपर्ने सेवा  सुचारु नभएकाले सल्यक्रिया सेवा र आईसीयु तथा एनआईसीयु सञ्चालन हुनेमा विश्वस्त हुने आधार छैन ।