Skip to main content

सामाजिक विकास समितिद्वारा प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्रका प्रमुखलाई निलम्बन गर्न निर्देशन

Submitted by editor on
शिवराज भट्ट
अटोक्लेभ

धनगढी  ः प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्रले खरिद गरिरहेको फोहरमैला ब्यवस्थापन प्लान्ट (अटोक्लेभ) मा आर्थिक अनियमितता भएको भन्दै प्रदेश सभाको सामाजिक विकास समितिले आपुर्ती ब्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याललाई निलम्बन गर्न निर्देशन दिएको छ ।

आईतबार बसेको प्रदेश सभाको सामाजिक विकास समितिको बैठकका बहुमत सांसदहरुले डाक्टर अर्यालमाथि छानबिन हुनुपर्ने र छानबिन अवधीसम्मका लागि जिम्मेवारीबाट हटाउन निर्देशन दिएको हो । नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद माया पन्त अध्यक्ष रहेको सामाजिक विकास समितिमा गठबन्धनभीत्रका सांसदहरुले यस्तो निर्देशन दिएका हुन ।

तर नेकपा एमालेले भने त्यसमा नोटअफ डिसेन्ट लेखेको छ । एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले यसै विषयमा केही दिनअघि सामाजिक विकास मन्त्री झपट साउद र सचिव गणेश बहादुर सिहले पनि टेन्डर प्रकृया ठिक छ भनेर रिपोर्ट नै दिएको बताए । 

‘मन्त्री र सचिवले टेन्डर प्रकृया ठिक छ भनेर गएपछि डाक्टर अर्याललाई निलम्बन किन गर्ने ? कारवाही नै सिफारिस गर्ने हो भने सामाजिक विकास मन्त्री र सचिवलाई पनि गर्नुपर्छ भनेपछि उनीहरुले तयार भएनन, हामीले नोट अफ डिसेन्ट लेख्यौं’ पाठकले भने ।

डाक्टर अर्याललाई निलम्ब गर्नुपर्छ भन्ने पक्षमा काँग्रेसबाट प्रदेश सभा सदस्यहरु प्रकाश बम, तुससी देवकोटा, नेकपा माओवादीका प्रदेश सभा सदस्य ओमविक्रम भाट र जानकी कुवरले हस्ताक्षर गरेका छन भने नेकपा एमालेका धर्मराज पाठक, हिरासिह सार्की र निर्मला साउदले नोटअफ डिसेन्ट लेखेका छन ।

आपुर्ती ब्यवस्थापन केन्द्रले प्रदेश सरकारले उपकरण खरिदका लागि बिनियोजन गरेको बजेटबाट टीकापुर अस्पताल, महाकाली अस्पताल, बैतडी र बझाङ अस्पतालका लागि फोहरमैला व्यवस्थापन प्लान्ट खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।

गठबन्धन निटकका प्रदेश सभा सदस्यहरुले दुुई÷ढाई करोड मुल्यमा पाईने उपकरण, सवा ७ करोडमा खरिद गर्न लागिएको आरोप लगाउदै आएका छन । आपुर्ती ब्यवस्थापन केन्द्रले गरेको खरिद प्रकृयामा काठमाण्डौंको एमएस लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालीसँग ७ करोड ३१ लाखमा आपुर्ती सम्झौता भईसकेको छ ।

काँग्रेसका सांसद प्रकाश बमले, महंगोमा गरिद भएको बारे डाक्टर अर्यालले चित्तबुुझ्दो जवाफ दिन नसकेको बताएका छन । माओवादी केन्द्रका सांसद ओमविक्रम भाटले आफुसहितका तीन जना माननीयहरुलाई, ब्यवसायीको उक्साहटमा लागेको भन्दै डाकटर अर्यालले चरित्रहत्या गरेको बताए । तर डाक्टर अर्यालले भने टेन्डर प्रकृया नियमसँगत नै भएको दाबी गरेका छन । उनले, आफुसँग खरिद प्रकृयासँग सम्बिन्धित कागजात माग भएको र सबै कागजात समितिमा बुझाई सकेको बताए । 

सामाजिक विकास समितिले राष्ट्रिय प्रयोगशालाबाट उक्त उपकरणको मुल्य, गुणस्तर र प्रकृयाका प्राविधिक पक्षको अध्ययनका लागि बायोमेडिकल ईन्जिनियर मगाउने निर्णय गरेको छ ।