Skip to main content

आपुर्तीका निर्देशक डाक्टर अर्याललाई हटाउने पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा

Submitted by editor on
डाक्टर अर्याललाई हटाएपछि अदालतको अवहेलना मुद्धा पर्न सक्ने भन्दै कर्मचारी अन्यौलमा
शिवराज भट्ट
डाक्टर निरज अर्याल


धनगढी : सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निर्देशक डाक्टर निरज अर्याललाई पदमुक्त गर्ने अधिकार आफुलाई नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पत्राचार गरेको छ । आईतबार बसेको प्रदेश सभाको सामाजिक विकास समिमिको बैठकले डाक्टर अर्याललाई प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रको निर्देशकबाट पदमुक्त गर्न निर्देशन दिएको थियो ।

तर सामाजिक विकास मन्त्रालयसँग डाक्टर अर्याललाई पदमुक्त गर्ने अधिकार छैन । सुदूरपश्चिम निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धि मापदण्ड २०८० अनुसार ९औं र १० औं तहका कर्मचारीलाई सरुवा वा काजफिर्ता गर्ने अधिकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई मात्र भएकाले सामाजिक विकास मन्त्रालयले उक्त पत्र पठाएको हो ।

‘सुदूरपश्चिम निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धि मापदण्ड २०८० को दफा ५ को उपदफा ७ अनुसार ९ औं र १० औं तहका कर्मचारीको सरुवा र काजफिर्ताको अधिकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई मात्र छ, त्यसैले सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको हो’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले भने ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निर्देशक डाक्टर अर्याल, यसअघि पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका आधारमा निर्देशकमा पुर्नबहाली भएका हुन । यसअघिको सरकारले उनलाई पदमुक्त गरेपनि उनलाई २०७८ सालको भदौ ३ गते सर्वोच्च अदालतले अर्को आदेश नहुँदा सम्मका लागि निर्देशक पदबाट नहटाउन अन्तरिम आदेश दिएको थियो । 

सर्वोच्चको उक्त आदेशकै आधारमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको सहमतिमा सामाजिक विकास मन्त्रालयले डाक्टर अर्याललाई २०७९ सालको भदौ ३० गते निर्देशक पदमा पुर्नबहाली गरेको थियो ।

दोहोरो चेपुवामा कर्मचारी
प्रदेश सभाको सामाजिक विकास समितिले डाक्टर अर्याललाई हटाउने निर्देशन दिएपछि सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका कर्मचारी दोहोरो चेपुवामा परेका छन । 

सामाजिक विकास मन्त्रालयले हटाउने अधिकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई नै रहेको पत्र पठाएपछि, उक्त कार्यालयले फेरि सामाजिक विकास मन्त्रालयलाई आफ्नो राय पेशगर्न भनेको छ । 

प्रदेशको संसदीय समितिले डाक्टर अर्याललाई हटाउन निर्देशन गरेको छ भने डाक्टर अर्यालसँग सर्वोच्चको अन्तरिम आदेश पनि छ । ‘सामाजिक विकास समितिको निर्देशन मानेर हटाउने हो भने सर्वोच्च अदालतको आदेशको अपहेलना हुने डर छ । न हटाउने हो भने प्रदेशको संसदीय समितिको निर्देशनको अवज्ञा हुने डर छ’ एकजना अधिकृतले भने । ‘यसबारेमा अझै केही निर्णय हुन सकेको छैन ।’
डाक्टर अर्यालले पाएको अन्तरिम आदेशको २०८१ को जेठमा मात्रै पेसी छ । त्यो पेशी पछि सर्वोच्चको आदेश अनुसार हुनेछ । ‘त्यसअघि डाक्टर अर्याललाई पदमुक्त गरेमा फेरि पदमुक्त गर्ने विरुद्ध अदालतको मानहानीको मुद्धा जानसक्छ’ एकजना कानून ब्यवसायीले भने । 

यस्तो थियो खरिद प्रकृयामा 
आपुर्ती ब्यवस्थापन केन्द्रले प्रदेश सरकारले उपकरण खरिदका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा बिनियोजन गरेको बजेटबाट टीकापुर अस्पताल, महाकाली अस्पताल, बैतडी र बझाङ अस्पतालका लागि फोहरमैला व्यवस्थापन खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।

उक्त उपकरण खरिदका लागि ६ वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । बायोमेड ईन्टरनेशनल प्रालि काठमाण्डौं, क्लिनटेक प्रालि काठमाण्डौं, दिब्या कन्सर्न प्रालि काठमाण्डौं, हस्पिटेक ईन्टरप्राईजेज काठमाण्डौं, जनमुक्ति हेल्थ ईन्टरप्राईजेज काठमाण्डौं र लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालि काठमाण्डौं गरी ६ कम्पनीले बोलपत्र पेश गरेका थिए । 

ती मध्ये हस्पिटेक ईन्टरप्राईजेज काठमाण्डौं र लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालि काठमाण्डौं मात्रै प्राविधिक मुल्यांकनको छनौटमा परेका छन । तर हस्पिटेक ईन्टरप्राईजेज काठमाण्डौंले आईएसओ ९००१ को मिति नाघेको प्रमाणपत्र पेश गरेको पाईएकाले लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालि प्राविधिक मुल्यांकनमा पास भएको थियो । 

आपुर्ती ब्यवस्थापन केन्द्रले लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालीसँग ७ करोड ३१ लाखमा आपुर्ती सम्झौता गरिसकेको छ । तर सुदूरपश्चिमको सामाजिक विकास समितिले भने उक्त उपकरणहरु बजारमुल्य भन्दा महंगोमा खरिद भएको भन्दै खरिद गर्ने निकायका निर्देशक डाकटर निरज अर्याललाई नै पदमुक्त गर्ने आदेश गरेको छ ।

सामाजिक विकास समितिभीत्र पनि उक्त आदेशको एमाले निकटका प्रदेश सभा सदस्यहरुले विरोध जनाएका छन । गठनबन्धका बहुमत ४ जना सदस्यहरुले पदबाट हटाउने निर्देशनमा हस्ताक्षर गरेका छन भने एमालेका ३ जना प्रदेश सभा सदस्यहरुले त्यसमा नोटअफ डिसेन्ट लेखेका छन ।

यस घटनाको सामाजिक विकास मन्त्रालयले आर्युबेद चिकित्सक डाक्टर चेतराज जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेर छानविन पनि गरिसकेको छ । स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाका बायोमेडिकल ईन्जिनियर आशिष चौहान, मन्त्रालयकै लेखा अधिकृत कृष्ण बहादुर शाही, शाखा अधिकृत भुवन जोशी सदस्य र मन्त्रालयकै कानून अधिकृत दान बहादुर सुनार सदस्य सचिव रहेको समितिले खरिद प्रकृयामा कुनै त्रुटि नरहेको भन्दै २०८० सालकै पुसको २५ गते सामाजिक विकास समितिलाई प्रतिवदेश बुुझाई सकेको छ ।