Skip to main content

ऐश्वर्यको वार्षिकोत्सवमा मुख्यमन्त्री शाहले भने ‘विद्यार्थी नै नभएका ठाउँमा बनिरहेका भवन बन्द हुन्छन’

Submitted by editor on
ईबिगुल संवाददाता
कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विद्यार्थी नै नभएका विद्यालयहरुमा नयाँ नयाँ भवन बनिरहेको बताउदै प्रदेश सरकार त्यस्तो गतिविधि रोक्ने प्रयासमा लागेको बताएका छन । 

धनगढीको ऐश्वर्य विद्या निकेतनको ४७ औं वार्षिकोत्सव समारोहमा प्रमुख अथितिका रुपमा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन । ‘विद्यार्थी नभएका ठाउँमा विद्यालय भवनहरु बनिरहेका छन । शिक्षक बढी भएका ठाउँमा विदार्थी छैनन, विद्यार्थी बढी भएका ठाउँमा शिक्षक छैनन, प्रदेश भरी यस्तो समस्गा छ, प्रदेश सरकार यसको समाधानको उपाय खोजिरहेको छ’ मुख्यमन्त्री शाहले भने ।

उनले डाक्टर हेमराज पन्तको अध्यक्षतामा यो समस्या समाधानका लागि समिति गठन गरेको बताए । ‘मैले डाक्टर हेमराज पन्तको नेतृत्वमा यी समस्या समाधानका लागि भनेर समिति गठन गरे । समितिको प्रतिवेदन पनि आएको छ । त्यो प्रतिवेदनमा अझै छलफल गर्नुपर्ने देखिएको छ’ मुख्यमन्त्री शाहले भने । 

उनले ऐश्वर्य विद्या निकेतनले प्रदेशको शिक्षामा महत्वपूर्ण योगदान पुुगाएको चर्चा गरे । मुख्यमन्त्री शाहले विद्यालयको पुर्वाधारका लागि बसेर छलफल गर्ने प्रतिवद्धता ब्यक्त गरे । 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नृप बहादुर ओडको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक प्रेमनीधि ओझाले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए । 

बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य, नाटकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, पुर्व विद्यार्थी, नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गरिरहेका विद्यार्थी, पुर्व ब्यवस्थापकहरुलाई सम्मानित गरिएको थियो ।