Skip to main content

आपुर्तीका निर्देशक डाक्टर अर्याललाई हटाउने आशयको पत्र लेख्न सामाजिक विकास मन्त्रालयका कर्मचारीबीच भागाभाग

Submitted by editor on
सामाजिक विकास मन्त्रालयमा उक्त टिप्पणी कसले उठाउने भन्ने अन्यौलता भएपछि आईतबार डाक्टर अर्याललाई निर्देशक बाट हटाउने पत्र बन्न सकेको छैन । प्रशासनका शाखा अधिकृत घर बसे भने हेमराज खडकाले पनि टिप्पणी उठाउन मानेनन ।
शिवराज भट्ट
कर्मचारीबीच भागाभाग

धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निर्देशक डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने आशयको पत्र लेख्नुपर्छ भनेर सामाजिक विकास मन्त्रालयका कर्मचारीबीच भागाभाग भएको छ ।

डाक्टर अर्याललाई आपुर्तीको निदेशकबाट हटाउने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले शुक्रबार निर्णय गरेपनि उक्त पत्र आईतबार मात्रै सामाजिक विकास मन्त्रालयमा पुुगेको छ । 

सामाजिक विकास मन्त्रालयले त्यसमा टिप्पणी उठाएर डाक्टर निरज अर्याललाई हटाउनुको कारण उल्लेख गर्नुपर्छ । डाक्टर निरज अर्याललाई हटाउनुपर्ने मनासिव कारण केही नदेखिएपछि उक्त टिप्पणी उठाउन कर्मचारी तयार नभएका हुन । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको पत्र आईतबार विहानै सामाजिक विकास मन्त्रालय पुुगेका थियो । उक्त पत्रपछि डाक्टर अर्यालका बारेमा टिप्पणी उठाउने भन्दै निमित्त सचिव गणेश बहादुर सिहले प्रशासनका शाखा अधिकृत भुवन जोशीलाई तोक लगाएपनि उनी विदामा बसेका बताईएको छ ।

उनले डाक्टर अर्याललाई हटाउने सहमतिका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पठाउने दोस्रो टिप्पणी नउठाउने भनेपछि अर्का अधिकृत हेमराज खडकाले टिप्पणी उठाएका थिए । प्रशासन अधिकृत भुवन जोशीले, पत्र पठाउदा अर्कैले टिप्पणी उठाएकाले जिम्मेवारीबाट हटाउने आशयको टिप्पणी आफुले नबनाउने अडान लिएको स्रोतको दाबी छ ।

प्रदेश निजामती कर्मचारीको सरुवा तथा काज सम्बन्धी कार्यविधि २०८० अनुसार ९ औ र १० औ तहका कर्मचारीलाई काज वा सरुवाको अधिकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई मात्र छ । डाक्टर अर्याल १० औं तहका कर्मचारी हुन । 

प्रदेश सभाको सामाजिक विकास समितिले डाक्टर अर्याललाई आपुर्तीको निर्देशकबाट हटाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । कार्यविधि अनुसार उनलाई हटाउने वा काजफिर्ताको अधिकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई भएको सुरुको पत्र भने प्रशासनका शाखा अधिकृत जोशीले टिप्पणी सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पठाएका थिए । 

जोशीले लेखेको पत्र र टिप्पणीको आशय ९ औं तह भन्दा माथिका कर्मचारीको सरुवा र काजफिर्ताको अधिकार कार्यविधि अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको हो, त्यहीबाट हटाउनु भन्ने थियो । तर मुख्यमन्त्री तथा मन्त्रीपरषदका कर्मचारीले पनि रिस्क नलिने भन्दै त्यस पत्रलाई परिवर्तन गरेर हटाउने समहति माग्न अह्राए । त्यसपछि भने जोशी पछि हटेका हुन ।
 

सर्वोच्चको अन्तरिम आदेशले आपुर्तीमा पुर्नबहाली भएका र उनलाई हटाउने अधिकार सामाजिक विकास मन्त्रालयलाई नभएकाले प्रशासनका शाखा अधिकृत जोशी पछाडि हटेको बताईएको छ । 

तर घटना त्यही रोकिएन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पत्र फेरेर ल्याउन निर्देशन दिएपछि त्यसपछिको पत्र लेख्न जोशीले मानेनन । त्यतीबेला सचिव गणेश बहादुर सिहले मन्त्रालयका प्रवक्ता हेमराज खडकाबाट टिप्पणी सहित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्र लेखे र त्यही अनुसार निर्णय पनि आएको छ । 

सामाजिक विकास मन्त्रालयमा उक्त टिप्पणी कसले उठाउने भन्ने अन्यौलता भएपछि आईतबार डाक्टर अर्याललाई निर्देशक बाट हटाउने पत्र बन्न सकेको छैन । प्रशासनका शाखा अधिकृत घर बसे भने हेमराज खडकाले पनि टिप्पणी उठाउन मानेनन ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रशासन सचिव शिवराम पोखरेलले भने डाक्टर अर्यालको सरुवा पनि नभएको र काजफिर्ता पनि नभएको तर्क गरे । ‘डाक्टर अर्यालको न सरुवा गरिएको हो न काज फिर्ता गरिएको हो, उनलाई दोहोरो जिम्मेवारीबाट हटाउने निर्णय भएको हो । त्यो कार्य सामाजिक विकास मन्त्रालयले गर्न सक्छ । हामीले सहमति प्रदान गरिसकेका छौं’ सचिव पोखरेलले भने ।

डाक्टर अर्यालको दरबन्दी रेडियोलोजिस्टको रुपमा सेती प्रादेशीक अस्पतालमा छ । सामाजिक विकास मन्त्रालयले उनलाई २०७९ सालको फागुन ३० गते देखि प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रको निर्देशकको जिम्मेवारी दिएको थियो । 

डाक्टर अर्याललाई प्रदेश सभाको सामाजिक विकास समितिले पत्रपत्रिकामा आफुहरुलाई मिलेमतोमा संलग्न भएको आरोप लगाएको झोंकमा बहुमतको आधारमा जिम्मेवारीबाट हटाउन निर्देशन गरेको थियो । 

डाक्टर अर्याल डाक्टर गुणराज अवस्थी निर्देशक भएकै बेला आपुर्तीको निर्देशकमा नियुक्त भएका थिए । तर उनलाई हटाउने त्यतीबेलाको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । डाक्टर अर्याललाई सर्वोच्चको अन्तरिम आदेश (२०७९ भदौ ३) का आधारमा  मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयकै सहमतिमा २०७९ भदौ ३० गते सामाजिक विकास मन्त्रालयले आपुर्तीको निर्देशकको पनि जिम्मेवारी दिएको थियो । 

उनको काजफिर्ता मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गर्नुपर्ने भएपनि, सर्वोच्चको अपहेलना लाग्ने डरले उसले (मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय) विवादको सबै झमेला सामाजिक विकास मन्त्रालयको थाप्लोमा हालेको एक अधिकृतले बताए ।

यस्तो थियो खरिद प्रकृया 
आपुर्ती ब्यवस्थापन केन्द्रले प्रदेश सरकारले उपकरण खरिदका लागि चालु आर्थिक वर्ष २०८०÷८१ मा बिनियोजन गरेको बजेटबाट टीकापुर अस्पताल, महाकाली अस्पताल, बैतडी र बझाङ अस्पतालका लागि फोहरमैला व्यवस्थापन खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।

उक्त उपकरण खरिदका लागि ६ वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । बायोमेड ईन्टरनेशनल प्रालि काठमाण्डौं, क्लिनटेक प्रालि काठमाण्डौं, दिब्या कन्सर्न प्रालि काठमाण्डौं, हस्पिटेक ईन्टरप्राईजेज काठमाण्डौं, जनमुक्ति हेल्थ ईन्टरप्राईजेज काठमाण्डौं र लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालि काठमाण्डौं गरी ६ कम्पनीले बोलपत्र पेश गरेका थिए । 

ती मध्ये हस्पिटेक ईन्टरप्राईजेज काठमाण्डौं र लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालि काठमाण्डौं मात्रै प्राविधिक मुल्यांकनको छनौटमा परेका थिए । ती मध्ये पनि हस्पिटेक ईन्टरप्राईजेज काठमाण्डौंले आईएसओ ९००१ को मिति नाघेको प्रमाणपत्र पेश गरेको पाईएकाले लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालि प्राविधिक मुल्यांकनमा पास भएको थियो । 

आपुर्ती ब्यवस्थापन केन्द्रले लाईफलाईन ट्रेड ईन्टरनेशनल प्रालीसँग ७ करोड ३१ लाखमा आपुर्ती सम्झौता गरिसकेको छ । तर सुदूरपश्चिमको सामाजिक विकास समितिले भने उक्त उपकरणहरु बजारमुल्य भन्दा महंगोमा खरिद भएको भन्दै खरिद गर्ने निकायका निर्देशक डाक्टर निरज अर्याललाई नै पदमुक्त गर्ने आदेश गरेको थियो ।

सामाजिक विकास समितिभीत्र पनि उक्त आदेशको एमाले निकटका प्रदेश सभा सदस्यहरुले विरोध जनाएका थिए । गठनबन्धका बहुमत ४ जना सदस्यहरुले पदबाट हटाउने निर्देशनमा हस्ताक्षर गरेका थिए भने एमालेका ३ जना प्रदेश सभा सदस्यहरुले त्यसमा नोटअफ डिसेन्ट लेखेका थिए ।

यस घटनाको सामाजिक विकास मन्त्रालयले आर्युबेद चिकित्सक डाक्टर चेतराज जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेर छानविन पनि गरिसकेको छ । स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाका बायोमेडिकल ईन्जिनियर आशिष चौहान, मन्त्रालयकै लेखा अधिकृत कृष्ण बहादुर शाही, शाखा अधिकृत भुवन जोशी सदस्य र मन्त्रालयकै कानून अधिकृत दान बहादुर सुनार सदस्य सचिव रहेको समितिले खरिद प्रकृयामा कुनै त्रुटि नरहेको भन्दै २०८० सालकै पुसको २५ गते सामाजिक विकास समितिलाई प्रतिवेदन बुुझाई सकेको छ ।