Skip to main content

हात्तीको बथानै आएर कञ्चनपुरको गर्जमुनीका किसानको सैयौं विघाको अन्नबाली नष्ट

Submitted by editor on
रासस
हात्तीको बथान शुक्लाफाँटा

कञ्चनपुर : राति नहुँदै खेतमा छिर्ने जंगली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको संख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली सखाप पारि दिएका छन ।

’विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गर्थे’, शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भने । ‘हात्ती छिर्ने बाटोमै काठका मुढा सल्काएर आगो बालेका थियौँ, हात्ती कुनै पर्वाह नगरी खेतबारीमै छिर्यो ।’ साइरन बजाएर भगाउन खोजियो, पटाका पड्काइयो तैपनि हात्ती नभागेको उनले बताए ।

‘पेट टन्न हुनेगरी खेतबारीमा पसेर गहुँबाली खाएपछि बल्ल निकुञ्जतिर लाग्यो’, उनले भने । प्रत्येक वर्ष हात्तीले धानबाली र गहुँबाली पाक्नै लागेका बेला छिरेर नोक्सानी गर्दै आएको उनले गुनासो गरे । ‘पाक्नै लागेको गहुँबालीमा हात्तीले पसेर नोक्सानी गर्न लागेका बेला भगाउन जानैपर्छ’ स्थानीय केशरबहादुर साउदले भने ।

तीन दिनको अवधिमै हात्तीले वडा नं ५ गर्जमुनिका भीमबहादुर साउद, केशरबहादुर साउद, जीतबहादुर साउद, सागर बोहरा, उत्तम भण्डारी, जयबहादुर साउद, विनोद कुवँर, भानदेव पन्त, लक्ष्मी पन्त, पूजा पाल, लोकेन्द्र खत्री, अर्जुन पन्त, मालती पाल र धनबहादुर साउदको गरी झण्डै चार बिघा खेतमा लगाएको गहुँबाली हात्तीले सखाप पारेको छ । 

तीन छावासहितको १५ को संख्यामा आउने हात्तीको बथानले गहुँबाली खानेमात्रै होईन, खुट्टाले कुल्चेर नोक्सान गरेको स्थानीय बासिन्दाको भनाइ छ । रातभर हात्ती भगाउनकै लागि जाग्राम बस्नुपर्ने अवस्था रहेको मालती पालले बताए । ‘राति अबेरसम्म हात्ती भगाउनमै खटिन्छौँ’, उनले भने । ‘हात्ती नखाई भाग्दै भाग्दैनन्, घर नै भत्काउने डर पनि हुन्छ, त्यही भएर पनि जाग्राम बस्नुपर्ने अवस्था छ ।’ 

हात्तीले बर्सेनि क्षति पुर्याउँदै आए पनि हालसम्म क्षतिपूर्तिबापतको रकम स्थानीयले नपाएको गुनासो गरे । हात्तीसँगै चितल, निलगाई र बँदेलले किसानका खेतमा पुगेर गहुँलगायतका बालीमा नोक्सानी गर्ने गरेको छ । खेतमा लगाएको अन्नबाली जंगली जनावरले खाएर नोक्सानी गर्न थालेपछि परिवारको वर्षभरिको भरणपोषणका लागि अन्न खरिद गर्न गर्जमुनि गाउँका अधिकांश बासिन्दाले रोजगारीका लागि भारततर्फ लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।

वडाध्यक्ष चक्रबहादुर खड्काले क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिस गर्नका लागि ३० जना बढी किसानले निवेदन दिएको बताए । निकुञ्जबाट आउने हात्तीले गर्जमुनिमात्रै नभएर वडा नं ६, ७, २ र ३ मा पनि बर्सेनि बालीनाली भित्र्याउने बेला नोक्सानी पुर्याउँदै आएको छ । तीन वर्षको अवधिमा नगरपालिका क्षेत्रका चार जनाले हात्तीको आक्रमणमा परेर ज्यान गुमाइसकेका छन् ।