Skip to main content

दार्चुलामा हतकडी सहित भागेका थुनुवा समात्न खोज्दा भीरमा लडेर प्रहरी जवानको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
प्रहरी जवानको भीरमा खसेर मृत्यु

दार्चुला : हतकडी सहित भाग्न खोजेका थुनुवा समात्ने बेला दार्चुलामा एकजना प्रहरी जवानको भीरमा खसेर मृत्यु भएको छ । सोमबार विहान ११ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुला पछाडिको भीत्रबाट लडेर प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षिय उमेश कुवरलाई चेकअपका लागि जिल्ला अस्पताल लैजान खोज्दा उनी हतकडी सहित भागेका थिए । कुवरलाई समात्न खोल्दा चौधरी भीरमा लडेर गम्भीर घाईते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो । अस्पताल पुुगाउदा पुुगाउदै चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले थुनुवा कुँवरले हतकडी सहित महाकाली नदिमा हाम फालेर पार गरि भारततिर भागेको बताएका छन । भागेका कुवरलाई महाकाली नदि पारी पट्टि भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय दार्चुलालाई बुुझाई सकेको पनि प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका कुवर माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए । फरार रहेका कुँवरलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो । 

घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्ना माथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ  ।