Skip to main content

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री भण्डारी भन्छन, ‘आफुले सुरु गरेका कामहरु एक कदम पनि अगाडि बढेका रहेनछन’

Submitted by editor on
शिवराज भट्ट
 दामोदर भण्डारी

धनगढी : उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले आफ्नो पहिलो प्रार्थमिकता सुदूरपश्चिमका खानीहरुको अध्ययन र उत्खनन रहने बताएका छन । प्रेस चौतारी नेपाल कैलाली शाखाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले यस्तो बताएका हुन ।

‘सुदूरपश्चिममा फस्फोरसको ठुलो सम्भावना छ । म त्यसको अध्ययन र उख्खननका लागि लाग्नेछु’ उनले भने । ‘सुदूरका फलाम, तामा र अन्य खानीहरु मेरो प्रार्थमिकतामा रहने छन ।’

मन्त्री भएपछि आफ्नो गृह जिल्ला बैतडी पुगेर काठमाण्डौं फर्किनु अघि धनगढीमा गरिएको पत्रकार सम्मेलनमा उनले, आफु यसअघि मन्त्री हुँदा सुरु गरेका कामहरु जहाँको त्यँही पाएको बताए । ‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको काम एक कदम पनि अगाडि बढेको रहेनछ । मैले जे सुरुवात गरेको थिए, आज पनि त्यँही पाए’ उनले भने । 

उनले कञ्चनपुरकै दैजीको छेलामा बन्ने भनिएको विषेश औद्योगिक क्षेत्र, कैलालीको हरैया बनाईन भनिएको सेजको काम पनि अगाडि नबढेको बताए । ‘दैजीको विषेश आर्थिक क्षेत्रको तत्कालीन प्रधानमन्त्री केपी शमा ओलीले उद्घाटन गर्नुभयो, तर त्यसपछिको सरकारले त्यसमा कुनै ध्यान नै नदिएको पाए’ उनले भने । 

उनले अहिले बनेको गठबन्धन अग्रगामी गठबन्धन भएकाले यसलाई असफल हुने छुट नहुने बताए । ‘अप्राकृतिक गठबन्धन भत्किएको छ । अग्रगामी गठबन्धन बनेको छ । यसलाई असफल हुने छुट छैन’ मन्त्री भण्डारीले भने । 

उनले बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने र विश्वासको मत पाएपछि सरकारले आफ्ना प्रार्थमिकताहरु निर्धारण गर्ने बताए । ‘बुधबार सरकारले विश्वासको मत पाउछ । त्यपछि सरकारका प्रार्थमिकताका कुराहरु पनि निर्धारण हुन्छन । अनी सरकार समय तोकेर काममा खटिन्छ’ उनले भने ।

उनले, गतवर्ष आजको मितिसम्म मन्त्रालयको पूजीगत खर्च १४ प्रतिसत रहेकोमा यसवर्ष त्यो प्रतिसत ५ मात्रै रहेको बताए । ‘मेरो मन्त्रालयको पूजगित खर्च ५ प्रतिसत मात्रै भएको छ । गतवर्ष त्यो १४ प्रतिसत थियो, त्यसले तिब्र गतीमा पूजीगत बजेट कार्यान्वयन गराउने चुनौती छ’ उनले भने ।