Skip to main content

गौरीफन्टा नाकाबाट कोरोनाका विरामी भित्रिदै, ९ दिनमा २९ जनामा संक्रमण

Submitted by editor on
ईबिगुल संवाददाता
नेपालीहरुमा कोरोनाको संक्रमण

धनगढी : भारतबाट स्वदेश फर्किरहेका नेपालीहरुमा कोरोनाको संक्रमण बढेको देखिएको छ । । चैतको १ गते यता कैलालीको गौरीफन्टा नाकाबाट मात्रै २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कले दिएको जनकारी अनुसार चैतको १ गते देखि ९ गते यस समाचार तयार पार्दा सम्म २९ जना कोरोनाका विरामी फेला परेका छन । सीमा क्षेत्रमा गरिएको एन्टीजेन परिक्षण पछि हरेक दिन भारतबाट फर्केका नेपालीहरुमा कोरोनाको संक्रमण देखिएको हेल्थ डेस्क ईञ्चार्ज गणेश साउदले बताए ।

शुक्रबार मात्रै ४ बजेसम्म ७ जनामा कोरोना संक्रमण भेटिएको छ । चैतको १ गते ५ जना, ४ गते ८ जना, ७ गते ४ जना, ९ गते ७ जना गरी १ गते यता मात्रै २९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

हेल्थ डेस्कले कोरोनाका विरामीहरुलाई सिधै घर पठाउने गरेको जनाएको छ । गम्भिर प्रकृतीका विरामी नभएकाले सुरक्षीत घर पठाई रहेको र घरमै आईसोलेशन बस्न सल्लाह दिईरहेको हेल्थ डेस्कले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलले गत महिनाको १२ देखि ३० गते सम्मको १८ दिनमा २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । गत महिनाको भन्दा कम समयमा बढी जनामा कोरोनाको संक्रमण फेला परेको हो । 

नयाँ वर्ष भएकाले भारतबाट आउने नेपालीहरुको संख्या बढिरहेको छ ।  हेल्थ डेस्कमा कोरोनाको नमुना जाँच गर्ने कीट, लगायतका सामग्रीको अपर्याप्तता देखिए पनि हरेक दिन एक सय देखि १५० जनालाई एन्टीजेन परिक्षण भईरहेको छ । पुस अघिको आठ÷दश महिना शून्य रहेको कोरोना सङ्क्रमण गत पुस महिनादेखि पुनःदेखिन थालेको हो ।