Skip to main content

यसपालीको एसईईमा सुदूरपश्चिमबाट ५५ हजार विद्यार्थी सहभागी हुदै

Submitted by editor on
खगेन्द्रबहादुर सिंह
एसईई

डोटी : चैत १५ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थीहरू परीक्षा दिने भएका छन् ।

सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी कृष्ण बहादुर बोहराले दिएको जानकारी अनुसार यस वर्ष ५५ हजार विद्यार्थी मध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार सात सय ६६ छात्रा रहेका छन् ।

परीक्षाको मिति नजिकिँदै गर्दा तयारी अन्तिम चरणमा पुगेको निर्देशनालयले जनाएको छ । प्रदेशका नौ वटै जिल्लाका लागि दुई सय ११ परीक्षा केन्द्र, दुई सय ११ केन्द्राध्यक्ष, तीन सय ७४ सहायक केन्द्राअध्यक्ष तोकिएको बोहराले बताए ।

त्यस्तै परीक्षाका लागि आवश्यकता अनुसार दुई हजार सात सय ४३ निरीक्षक, पाँच सय ५५ सहायक कर्मचारी, एक परीक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार एक सय ६३ जना नेपाल प्रहरीका साथै एक हजार ९५ विद्यार्थीका सहयोगी गरेर कुल ८ हजार एक सय ४३ जना कर्मचारीहरू परिचालित हुने निर्देशनालयले जनाएको छ ।

परीक्षामा सहभागी हुने मध्य सबैभन्दा बढी कैलालीबाट रहेका छन् । कैलालीबाट १८ हजार सात सय २० परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । त्यस्तै कञ्चनपुरबाट १० हजार ३३५, बैतडीबाट पाँच हजार ८७, अछामबाट चार हजार ९५० विद्यार्र्थीले एसईई परीक्षा दिने भएका छन् ।

त्यस्तै बझाङबाट चार हजार तीन सय ८०, डोटीबाट तीन हजार तीन सय २८, बाजुराबाट दुई हजार ९३४, दार्चुलाबाट दुई हजार ७५० र डडेलधुराबाट दुई हजार ५५७ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

यस वर्ष तीन वटा परीक्षा केन्द्र थप भएका छन् । गत वर्ष दुईसय आठवटा परीक्षा केन्द्र रहेकोमा  यसवर्ष दुई सय ११ बनाईएको निर्देशनालयले जनाएको छ । यस वर्ष दुई वटा कञ्चनपुर र एउटा बझाङमा केन्द्र थप भएका हुन ।