Skip to main content

उप–निर्वाचनका उमेदवारविरुद्ध आज उजुरी दिन पाईने

Submitted by editor on
ईबिगुल संवाददाता
उजुरी दिन पाइने

धनगढी : प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दर्ता गराएकाविरुद्ध आज उजुरी दिन पाइने भएको छ । 

निर्वाचन आयोगका अनुसार उम्मेदवारविरुद्ध कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र आज दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । 

उजुरी परेको खण्डमा जाँचबुझ गरी २६ गते  बेलुका ५ बजेपश्चात उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने छ । यसैगरी २७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने आयोगको कार्यतालिका छ ।

बझाङमा प्रदेश सभा सदस्य उप निर्वाचनका लागि १२ जनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले दिएको जानकारी अनुसार नेकपा एमालेबाट दमन बहादुर भण्डारी, नेपाली काँग्रेसबाट अभिषेक बहादुर सिह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिल बहादुर सिहले उमेदवारी दर्ता गराएका छन ।

यस्तै राष्ट्रिय मातृभूमी पार्टीबाट विनोद बहादुर थापा, नेपाल मजदुर किसा पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर, राप्रपाबाट किशोर कुमार खडका र जनता समाजवादी पार्टीबाट राम बहादुर जाग्रीको उमेदवारी परेको छ । 

यस्तै नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खडका र जनमत पार्टीबाट शुसीला देबी विष्टको उमेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।