Skip to main content

यसपाली पनि नयाँवर्ष २०८१ को पहिलो दिन धनगढी दौडिने

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढी जेसीज

धनगढी : नयाँवर्षको पहिलो दिन धनगढी दौडिने भएको छ । धनगढी जेसीजले हरेक वर्षजस्तै यसवर्ष पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै धनगढीलाई दौडाउन लागेको हो । 

बुधबार धनगढी जेसीजले  पत्रकार सम्मेलनको आयोजना गर्दै हाफ म्याराथनको तयारी पुरा भएको जानकारी गराएको छ । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ हाफ म्याराथन प्रतियोगिताको आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ । २०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसकेपनि २०७१ साल देखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसीजले जनाएको छ ।  म्याराथन चार वटा विधामा हुनेछ । २१ दसमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने छ । 

यस्तै कर्पोरेट तथा सञ्चार विधामा ५ किलोमिटर, महिला तर्फ ५ किलोमिटरको दौड हुनेछ । ती दुुबै विधामा पहिलो हुनेले ६ हजार ६६६, दोस्रो हुनेले ४ हजार ४४४ र तेस्रो हुनेले ३ हजार ३३३ रकम पुरस्कार पाउनेछ । यस्तै ट्राईसाकल बिधामा पनि म्याथान हुने र सम्मान सहित पुरस्कार दिईने आयोजकले जनाएको छ ।

२०८१ को बैशाख १ गते विहान ६ बजे धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको जनाएको छ । जेसीजले युवाहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगताको आयोजना गर्दै आएको जनाएको छ  ।