Skip to main content

सुदूरपश्चिममा अबको मुख्यमन्त्री को ? कैलाश की घनश्याम

Submitted by editor on
शिवराज भट्ट
सुदूरपश्चिममा अबको मुख्यमन्त्री को ? कैलाश की घनश्याम

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीको विहीबारको प्रतिक्रिया सत्य हो भने सुदूरपश्चिममा नागरिक उन्मुक्तिले मुख्यमन्त्री पाउने भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि रञ्जीताले सुदूरपश्चिममा मुख्यमन्त्री र भौतिक पुर्वाधार मन्त्री उन्मुक्तिले पाउने भद्र सहमति भएको दाबी गरेकी छन ।

उनको दाबी सत्य मान्ने हो भने सुदूरपश्चिममा मुख्यमन्त्री नागरिक उन्मुक्तिले पाउनेछ । तर मुख्यमन्त्री उन्मुक्तिले पाउने वित्तिकै पनि सरकार फटाफट बनिहाल्ने र प्रदेशको गतिरोध अन्त्य भईहाल्ने छाँटकाँट भने देखिदैन । किनकी उन्मुक्ति भीत्र अझ मुख्यमन्त्री को ले पाउने भन्ने विवाद चर्किन सक्छ ।

अहिले धनश्याम चौधरी नागरिक उन्मुक्तिका संसदीय दलका नेता छन । उनलाई उनको दलका बहुमत प्रदेश सभा सदस्यको समर्थन रहेको छ । तर संसदीय दलको विधान पास भईनसकेको अवस्था देखाउदै रञ्जीताले उनलाई पदमुक्त गरेर संसदीय दलको नेता जिम्मेवारी कैलाश चौधरीलाई दिईसकेकी छिन । 

यद्यपी प्रदेश सभाले घनश्यामलाई आजको मिति सम्म दलको नेताबाट हटाएको छैन । स्रोत भन्छ, ‘उन्मुक्तिको भाग परेर पनि समस्याको समाधान निस्कलेला जस्तो लाग्दैन । अझ उनीहरुमा मुख्यमन्त्री को हुने र भौतिक पुर्वाधारमा को जाने विवाद हुनसक्छ ।’

रेशम आफ्नो पक्षमा लागेका प्रदेश सभा सदस्य मध्येबाट मुख्यमन्त्री बनाउन चाहन्छन । उनले बुधबार मात्रै आर्थिक मामिला मन्त्री समेत रहेका दलका नेता घनश्याम चौधरीको सरकारी निवासमा मुख्यमन्त्री नै हाम्रो बटनलाईन हुनुपर्ने भन्दै प्रदेश सभा सदस्यहरुलाई ‘ब्रिफिङ’ गरिसकेको छन । ‘उनले पक्कै पनि घनश्यामलाई मुख्यमन्त्री बनाउन चाहन्छन’ उन्मुक्ति  िनकटकै स्रोत भन्छ । ‘फेरिपनि सरकारको गाडो फुक्ला जस्तो छैन ।’ 

बैशाख २ गते नयाँ सरकार गठनको अन्तिम दिन हो । प्रदेश प्रमुख नजिर मियाले २०८१ सालको बैशाख २ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त दलको नेताले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समयसीमा तोकेका छन ।

‘अहिलेसम्म सरकार गठनका लागि गठबन्धनभीत्रका दलहरुको खासै सक्रियता देखिएको छैन । बरु काँग्रेसको नयाँ सरकार बन्न नदिने सक्रियता बढी देखिन्छ’ स्रोत भन्छ ।

तर नाउपाका केन्द्रीय सदस्य दामोदर पण्डितले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने गठबन्धनमा सहमति भएको बताए । उनले भने, ‘मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएर सुदूरपश्चिममा सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने लिखित समझदारी नै भएको छ ।’

उनले नाउपाले प्रदेश सभा सदस्य कैलाश चौधरीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने बताए । ‘हाम्रो पार्टीले माननीय कैलाश चौधरी ज्यूलाई मुख्यमन्त्रीमा पठाउँछ,’ पण्डितले भने ।