Skip to main content

धनगढी उपमहानगरमा आधारभूत तहको परिक्षाफलमा चार गुणाले बृद्धी

Submitted by editor on
गत शैक्षिक सत्रमा ९ प्रतिसत उत्तीर्ण भएकोमा यसवर्ष त्यो प्रतिसत ३१ पुग्यो, गतवर्ष १७ विद्यालय निल भएकोमा यसपाली एक पनि भएन ।
ईबिगुल संवाददाता
आधारभूत तह

धनगढी :  धनगढी उपमहानगरपालिका भीत्रका आधारभूत तहका विद्यालय (कक्षा ८) को नजीता सार्वजनिक भएको छ । सार्वजनिक भएको नतीजा अनुसार गत शैक्षिक शत्रको भन्दा ४ गुणाले राम्रो नतीजा आएको छ । गत वर्ष कक्षा ८ को परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।

गत वर्ष १७ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएकोमा यो वर्ष कुनै पनि सामुदायिक विद्यालयको नतिजा शून्य आएन । शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक आएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए । ‘यो वर्ष गत वर्षको तुलनामा कक्षा ८ को परीक्षाको नतिजामा सुधार देखिएको छ’ खातीले भने ।

यो वर्ष धनगढीका ४२ वटा सामुदायिक विद्यालयका ३ हजार ५२४ विद्यार्थीले  कक्षा ८ को परिक्षा दिएका थिए । ती मध्ये एक हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका छन् । धनगढीका सामुदायिक विद्यालयमा अधिकतम ६५ दशमलव ७८ र न्यूनतम ७ दशमलव ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । धनगढी–१६ को बेहडाबाबा माध्यमिक विद्यालयका सर्वाधिक ६५ दशमलव ७८ प्रतिशत विद्यार्थी पास भएका छन । बेहडाबाबा माध्यमिक विद्यालयका ७६ मध्ये ५० जना विद्यार्थी पहिलो चरणमै उत्तीर्ण भएका हुन् । 

धनगढी–३ को त्रिभुवन माध्यमिक विद्यालयको ६० प्रतिशत नतिजा आएको छ भने सिद्धनाथ माध्यमिक  विद्यालय जुगेडाका ५८ दशमलव ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी, राष्ट्रिय माध्यमिक विद्यालय उर्माबाट ५५ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष शिक्षक, अभिभावक र विद्यार्थीले समेत मेहनत गर्दा नतिजामा सुधार आएको शिक्षा महाशाखा प्रमुख खातीले बताए ।

्गत वर्ष शून्य नतिजा हासिल गरेका विद्यालयहरूको नतिजा निकै राम्रो आएको छ । ‘दिवा छात्रावास तथा अतिरिक्त कक्षा समेत चलाएर वर्षभरी पठनपाठन गरिएकाले गत वर्ष कमजोर देखिएका विद्यालयमा व्यापक सुधार भएको छ’ खातीले भने ।

गत वर्ष शून्य नतिजा हासिल गरेको धनगढी–१२ जुगेडाको दुर्गा आधारभूत विद्यालयको यो वर्ष उत्तीर्ण प्रतिशत बढेर ५१ दशमलव ४२ प्रतिशत पुगेको छ । यस्तै, शून्य नतिजा आएको धनगढी–१० जुगेडाको जनकल्याण माध्यमिक विद्यालयका ४८ दशमलव ८७ र धनगढी–१३ श्रीलंकाको नवज्योति आधारभूत विद्यालयका ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । 

सामुदायिक र संस्थागत विद्यालयको प्रतिसत भने ५२ रहेको छ । गत वर्षदेखि धनगढीमा आधारभूत तहको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालिएको हो । यो वर्ष उपमहानगरपालिकाले नियमित विद्यालयको अनुगमन गरेको, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीले समेत मेहनत गरेकाले नतिजामा सुधार आएको बताईएको छ ।

धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा सुधार ल्याउन नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम समेत लागु गरेको छ । यो वर्ष सामुदायिक विद्यालयहरूले दिवा छात्रावास र अतिरिक्त कक्षा सञ्चालनग गरेर सामुदायिक विद्यालयहरूले पठनपाठन गराएकाले आधारभूत तहको नतिजामा सुधार आएको उपमहानगरपालिकाले जनाएको छ ।