Skip to main content

कैलालीको मोहन्याल बाहेक सुदूरपश्चिममा पढाई हुनुअगावै पुगे पाठ्यपुस्तक

Submitted by editor on
मोहन्याल गाउँपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले विद्यालयहरुके खातामा रकम हालेका छैनन ।
शिवराज भट्ट
मोहन्याल गाउँपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले विद्यालयहरुके खातामा रकम हालेका छैनन ।

धनगढी : कैलालीको मोहन्याद गाउपालिका बाहेक सुदूरपश्चिममा यसवर्ष पढाई सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेका छन । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीले दिएको जानकारी अनुसार बुधबार बेलुकीसम्म सुदूरपश्चिममा ९ वटै जिल्लामा १५ लाख ३६ हजार पाठ्यपुस्तक पुगेका हुन ।

जनक शिक्षा सामाग्री केन्द्र धनगढीका प्रमुख राम बहादुर कुवरले कैलालीको मोहन्याल गाउपालिकाले आफै पाठ्यपुस्तक किन्ने भनेपछि त्यहाँ पाठ्यपुस्तक गएका छैनन । पाठ्यपुस्तक विक्रेताहरुले मोहन्यालले विद्यालयहरुका खातामा रकम नहालेका कारण त्यहाँ पाठ्यपुस्तक नपुगेको बताएका छन ।

‘मोहन्यालका २० विद्यालयका पुस्तक मैले आपुर्ती गर्दै आएको छु तर अहिलेसम्म पालिकाले विद्यालयको नाममा रकम निकासा नगरेका कारण पुस्तक किन्न सकिएको छैन’ लम्कीमा रहेको जनक शिक्षा सामाग्रीको आधिकारिक विक्रेता तुर्ज बहादुर बोगटीले भने । 

मोहन्याल गाउँपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले विद्यालयहरुके खातामा रकम हालेका छैनन । ‘लम्की चुहा र जानकीको पाठ्यपुस्तक त आफ्नै रकममा किनेर वितरण गरियो, तर भुक्तानी भएको छैन । मोहन्यालले आफै पुस्तक किन्ने भनेकाले लगानी गरिएन’ लम्कीका पुस्तक ब्यवसायी बोगटीले भने । उनले लम्कीचुहा र जानकीले रकम निकासाको प्रकृयामा रहेको र पुस्तक ल्याउन भनेपछि आफुले लगानी गरेको बताए ।

तर मोहन्याल गाउपालिकाका अध्यक्ष देबीदत्त उपाध्यायले भने विद्यालयहरुले पठाएको विद्यार्थीहरुको संख्या बढी भएको पाईएकाले पालिकाले रकम निकासा नगरेको जनाएको छ । ‘हामीले चैतको २८ गतेसम्म विद्यार्थीहरुको विवरण माग गरेका थियौं, तर धेरै विद्यालयले बुझाएनन । हामीले आफै किनेर दिने योजना बनाएका थियौं, त्यो पनि जनक शिक्षाले मिल्दैन भनेपछि अब रकम निकासाको प्रकृयामा छ’ अध्यक्ष उपाध्यायले भने ।

उनले, विद्यालयहरुले रकमका लागि विद्यार्थीको संख्या बढाएको पाईएकाले शिक्षा शाखाबाट छानविन समिति गठन भएको पनि बताए । ‘हामीले विद्यार्थीको एकीन संख्याका लागि समिति गठन गरेका थियौं, त्यसको प्रतिवेदन पनि आईसकेको छ । अब त्यही प्रतिवेदनका आधारमा विद्यालयमा रकम निकासा गर्छौं ।’ उपाध्यायले भने । उनले पढाई सुरु हुनुभन्दा अगाढि नै पाठ्यपुस्तक वितरण गराईसक्ने दाबी गरे ।

बुधबार बेलुकीसम्म सुदूरपश्चिमका कैलालीमा ३ लाख ३६ हजार, कञ्चनपुरका २ लाख ७० हजार, डडेल्धुरामा ८५ हजार, डोटीमा १ लाख २५ हजार, बैतडीमा १ लाख ६२ हजार, अछाममा १ लाख ५३ हजार, बझाङमा १ लाख ५५ हजार, दार्चुलामा १ लाख २५ हजार र बाजुरामा १ लाख २२ हजार गरी १५ लाख ३६ हजार पाठ्यपुस्तक विक्रि भईसकेका जनक शिक्षाले जनाएको छ ।

‘कैलालीको मोहन्याल बाहेक अरु स्थानीय तहमा पनि केही विद्यालयका पाठ्यपुस्तक  गएका छैनन । धनगढीमै पनि पाठ्यपुस्तक पुरा भएका छैनन, नजिक भएकाले र सहज रुपमा पाउन थालेपछि यस्तो भएको हुनुपर्छ । दुर्गममा भने सबै विद्यालयमा पाठ्यपुस्तक  पुगिसकेका छन’ जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख राम बहादुर कुवरले भने ।