धनगढी : डोटीमा कार्यरत एकजना सशस्त्र प्रहरी निरीक्षक विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी सेवा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका निरीक्षक प्रकाशबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सशस्त्र प्रहरी बल ३६ नम्बर गण हेडक्वार्टर डोटीमा कार्यरत चन्दविरुद्ध सोमबार अख्तियारले विशेष अदातलमा मुद्दा दायर गरेको हो । चन्दले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइ स्कुल एण्ड इन्टरमिडिएट एजुकेसन युपीबाट जारी भएको १०+२ को शैक्षिक प्रमाणपत्र नक्कली बनाएको पाइएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
उनले नक्कली प्रमाणपत्र पेस गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिएर पछि माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेशगरेर सशस्त्र प्रहरी निरीक्षक पदसम्म पुगेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
उनले नक्कली प्रमाणपत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना मागदाबी गरिएको छ । उक्त दफामा झुटा विवरण दिइ सरकारी लाभ सुविधा लिएको कसूरमा संलग्नलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।