Skip to main content

धनगढी उपमहानगरभीत्रका नमूना विद्यालयमा स्मार्टबोर्डबाट अध्यापन सुरु

Submitted by editor on
नमूना विद्यालयहरु शनिबार बाहेकको सार्वजनिक विदाका दिन पनि खुल्ने, ग्रामीण भेगका विद्यालयहरु नमूना बनाउन प्रार्थमिकता
शिवराज भट्ट
स्मार्टबोर्डबाट अध्यापन

धनगढी : शिक्षा सुधार वर्ष मनाईरहेको धनगढी उपमहानगरमा अब स्मार्टबोर्डबाट अध्यापन हुने भएको छ । मंगलबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन सुरू भएको हो । 

नमुना विद्यालय घोषणा भएका धनगढीको ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयलाई जनही १० वटाका दरले  उपमहानगरपालिकाले स्मार्टबोर्ड वितरण गरेको थियो । यो वर्ष धनगढी उपमहानगरपालिकाले घोषणा गरेका पाँच वटा नमूना विद्यालयहरुलाई प्रत्येकलाई १० का दरले ५० वटा स्मार्टबोर्ड वितरण गरिएका थिए ।

नमुना विद्यालयका कारण सर्वसाधारणका छोराछोरीले निःशुल्क र स्तरीय शिक्षा पाउने हुँदा सरकारी विद्यालयप्रति विश्वास बढ्ने प्राध्यापक डाक्टर हेमराज पन्तले बताए ।  उपमहानगरले सिद्धनाथ माविलाई नमूना विद्यालय घोषणा गरेको छ । उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म स्मार्टबोर्डका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न थालिएको हो । सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन स्मार्टबोर्डको प्रयोग गर्ने योजना बनाइएको उपमहानगरले जनाएको छ ।

स्मार्टबोर्डको प्रयोगबाट शिक्षण गर्न निकै सहज भएको विद्यालयका शिक्षक तेजराज भट्टले बताए । उनले शिक्षकलाई शिक्षण गर्न तथा विद्यार्थीलाई बुझ्न स्मार्टबोर्ड निकै उपयोगी रहेको बताए । ‘स्मार्टबोर्ड जडानपछि हामीलाई पढाउन र कुरा बुझाउन निकै सहज भएको छ । विद्यार्थीले पनि शिक्षण सिकाइ क्रियाकलापमा रुचि देखाएका छन’ शिक्षक भट्टले भने ।

ग्रामीण क्षेत्रका विद्यालयलाई नमुना बनाउन प्राथमिकता 
धनगढी उपमहानगरपालिकाले सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नमूना घोषणा गर्दै भौतिक तथा शैक्षिक सामग्रीसहित विषयगत शिक्षकको व्यवस्थापन गर्ने भएको छ । 

ग्रामीण क्षेत्रका विद्यार्थीलाई समेत प्रतिस्पर्धी र क्षमतावान बनाउन ग्रामीण क्षेत्रका विद्यालयलाई हरेक वर्ष नमुना बनाउँदै लग्ने योजना रहेको मेयर हमालले बताए । सरकारी विद्यालयप्रतिको धारणामा परिवर्तन ल्याउन नमूना विद्यालयमा आधुनिक शैक्षिक सामग्री, भवन, फर्निचर र आवश्यक सबै सुबिधा उपलब्ध गराउने मेयर हमाले बताए । 

‘हाम्रो निर्वाचित टिमले ग्रामीण क्षेत्रका विद्यालयको सुधार गर्ने योजनाअनुसार नमुना विद्यालय घोषणा गरिएको हो । हरेक वर्ष पाँच वटाका दरले नमुना विद्यालय बढाउदै लैजाने लक्ष्य छ’ हमालले भने । ‘ग्रामीण क्षेत्रका बालबालिकाले निःशुल्क स्तरीय शिक्षा हासिल गरेर अरु जस्तै प्रतिष्पर्धामा उत्रन सकून् भनेर नमूना विद्यालय घोषणा गरिएका हुन ।’