Skip to main content

धनगढी उपमहानगरभीत्रका नमुना विद्यालय सार्वजनिक बिदाको दिन पनि खुल्ने

Submitted by editor on
ईबिगुल संवाददाता
सार्वजनिक बिदाको दिनसमेत

धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका नमुना घोषणा भएका विद्यालयहरू शनिवार बाहेक, सार्वजनिक बिदाको दिनसमेत खुल्ने भएका छन । नगरपालिकासँग कार्यसम्पादन सम्झौता गर्दा नै नमुना विद्यालयहरूले अनावश्यक हुने सार्वजनिक बिदाको दिनसमेत विद्यालय चलाउने भन्दै वार्षिक कार्ययोजना बनाएका हुन् । विद्यार्थीको सिकाइमा सुधार गर्नका लागि सार्वजनिक विदाको दिनसमेत नियमित पठनपाठन गरिने विद्यालयहरुले जनाएका छन ।

गत वर्ष नमुना घोषणा भएका धनगढीका पाँच विद्यालयले शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिनसमेत पठनपाठन गर्ने वार्षिक कार्ययोजना बनाएका हुन् ।  सार्वजनिक  बिदाको दिनसमेत विद्यालयमा पठनपाठन गराएर हरेक कक्षाको नतिजा उत्कृष्ट ल्याउन विद्यालयका सबै शिक्षक कस्सिएर लागेको प्रधानाध्यापक प्रेमबहादुर शाहीले बताए ।

‘हामीले नगरपालिकासँग गरेको वार्षिक कार्यसम्पादन सम्झौतामा समेत शनिवार बाहेकका सार्वजनिक बिदामा विद्यालय खोल्ने निर्णय गरेका छौँ । नमूना विद्यालयमा अरु विद्यालदयको भन्दा बढी दिन विद्यालय खुल्नेछ’ उनले भने । ‘गत वर्ष कक्षा ८ को नतिजा केबल ७ प्रतिशत थियो, यो वर्ष सुधार भएर ६० प्रतिशत पुगेको छ । अझै सबै कक्षाको नतिजा उत्कृष्ट ल्याउने हिसाबले हामी सबैले मेहनत गरिरहेका छौं ।’