Skip to main content

नेपाल प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्सकिंग’ भारतमा पक्राउ

Submitted by editor on
‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद
शिवराज भट्ट
‘ड्रग्स किंग’

धनगढी : नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्स किंग’ लाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ । मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने अंकित माल्या (२५ वर्ष) र सिगहिया कस्बामा डेरा गरि बस्ने विक्की नेपाली भनिने बिक्की गुप्ता (३२ वर्ष) लाई भारतीय प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरएको भारतीय प्रहरीले जनाएको छ । ‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको भारतको पलिया थानाले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।

पलिया थानाका ईञ्चार्ज विवेक कुमार उपाध्यायको नेतृत्वमा, उपनिरिक्षक तथा पलिया कस्बा प्रभारी उदयबीर यादव, कबच सर्विलेन्स सेलका उपनिरिक्षक प्रसान्त श्रीवास्तव, जवानहरु ललित कुमार, परिक्षीत सैनी, संदीप चौधरी र पवन यादब सहितको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुबैजना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ कारोबारी हुन । ईविगुल डटकमले विक्की नेपाली भनिने विक्की गुप्ता सहितका सीमापारीका कारोबारीहरुको तस्बिर सहित पुस २४ गते रिपोर्ट प्रकाशित गरेको थियो । 

कैलाली प्रहरीले पनि दुबैजना नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको जनाएको छ । ‘दुुबैजना नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा छन । हामीले भारतको निर्वाचन केन्द्रित दुई देशका अधिकारीहरुको बैठकमा यो कुरा प्रार्थमिकताका साथ उठाएका थियौं, भारतीय समकक्षीहरु एक्सनमा गएछन, राम्रो काम गरे’ कैलालीका प्रहरी उपरिक्षक पदम बहादुर विष्टले भने ।

विक्की नेपाली भनिने विक्की गुप्ता लामो समयदेखि धनगढीमा बसेर ब्राउन सुगरको कारोबार गर्दै आएका थिए । उनले कैलाली कारागारमा ब्राउन सुगरको ‘रकेट’ चलाएको खुलेपछि उनको नेपाल प्रहरीले खोजि गरेको थियो । 

उनले कारागारमा रहेका कैदीबन्दीका आफन्तहरुसँग चिनजान गरेर खाना पुगाउन जाने बेला खानाभीत्र ब्राउनसुगर पठाएर कारोबार गरिरहेका थिए । २०८० सालको असारको महिना धनगढीकी कमला देबी अवस्थीको साथबाट बरामद भएको ब्राउन सुुगर यीनै विक्की गुप्ताले विस्कुट भीत्र पठाएको खुलेको थियो । 

कमला, ब्राउन सुुगरकै कारोबारमा पक्राउ परेका छोरा र बुहारीलाई खाना पुगाउन कैलाली कारागार जाने बेला गेटमा चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको थियो । 

उक्त ब्राउन सुगर पनि विक्की नेपाली भनिने विक्की गुप्ताले पठाएको खुलेको थियो । प्रहरीले त्यही दिन देखि नै उनको खोजी सुरु गरेको थियो । लामो समयसम्म नेपालमै बसेर कारोबार गरिरहेका गुप्ता नेपाल प्रहरीले खोज्न थालेपछि उनी भारतको पलियामा डेरा गरी बस्दै आएका थिए ।

अंकित माल्याको नाम नै भारतमा ‘ड्रग्स किंग’ हो । उनी पलियामा बसेर नेपालका लागि ब्राउन सुगरको कारोबार गर्ने ब्यक्ति हुन । नेपालका कञ्चनपुर, कैलाली, बाँके र बर्दिया जिल्ला आसपासमा ब्राउनसुगरको कारोबार गर्ने नेपालीहरु उसकोबाट लागुदार्थ किन्ने गर्छन । उनलाई, नेपाल प्रहरीको लागुपदार्थ ब्युरोले लाखौंको कारोबार गर्ने भनेर नेपाल बोलाउन चाहेपनि उनी नेपाल नआएका ब्यक्ति हुन । 

नेपालमा ब्राउन सुगरको कारोबारमा पक्राउ परेर अहिले जेलमा रहेका अधिकांस ब्यक्तिको बयानमा पनि अंकितले दिएको उल्लेख छ । भारतीय प्रहरीले उनीहरुलाई भारतको एनडिपिएस एक्टको धारा १६९ अनुसार मुद्धा चलाउने जनाएको छ । 

नेपाल भारतको सीमा बैठकका बेला, विक्की सहितका दर्जन भन्दा बढी सीमापारी ब्राउन सुगरको कारोबारीहरुको तस्बिर, फोन नम्बर सहितको विस्तृत विवरण नेपाल प्रहरीले भारतीय प्रहरीलाई बुझाएको थियो ।