Skip to main content

‘मेघा प्रोजेक्ट’ का लागि सुदूरपश्चिमलाई राज्यले विभेद गरेको मुख्यमन्त्री सोडारीको आरोप

Submitted by editor on
राष्ट्रिय विकास परिषदको बैठकमा सुदूरपश्चिम प्रदेशका विकासका सम्भावना प्रस्तुत
ईबिगुल संवाददाता
राष्ट्रिय विकास परिषदको बैठकमा सुदूरपश्चिम प्रदेशका विकासका सम्भावना प्रस्तुत

धनगढी : सुदूूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले ‘मेघा प्रोजेक्ट’ निर्माणका लागि राज्यले सुदूरपश्चिम माथि विभेद गरेको आरोप लगाएक छन । राष्ट्रिय विकास परिषदको बैठकमा सुदूरपश्चिम प्रदेशका विकासका सम्भावना प्रस्तुत गर्दै विहीबार काठमाण्डौंमा उनले यस्तो आरोप लगाएका हुन ।

सोडारीले  सुदूरपश्चिम ५० को दशकमा कर्णाली नदीमा पुल बनेपछि पूर्वि नेपालसंग जोडिएको स्मरण गराउदै भने, ‘त्यसअघिका दिनमा काठमाडौ लगायत मुलुकका विभिन्न भागमा पुग्नका लागि भारतको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था थियो, त्यसपछिका दिनमा सडक, यातायातका क्षेत्रमा केही प्रगति भए पनि मानव सूचकांकमा सुदूरपश्चिम अझै पछाडि छ ।’

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा सोडारीले यस्तो बताएका हुन । ‘सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनीया– ताक्लाकोट सेती लोकमार्ग बनाउन जरुरी छ, सो सडक बनेपछि  तिब्बतसंग सुदूरपश्चिमको पहुँच पुग्ने छ । सेती लोकमार्ग बनेपछि मानसरोबर जानका लागि नेपाली मात्र होइन भारतीय पर्यटकलाई समेत सजिलो हुनेछ’ उनले भने ।

उनले चीनसँगको सडक सञ्जालसंगै व्यापारिक नाका पनि खोल्नुपर्नेमा जोड दिए । ‘यसो गर्दा चिनियाँ सामान सस्तोमा पाउन सकिने छ भने हाम्रा जडीबुटी लगायतका उत्पादन पनि चीनलाई बेच्न सकिने छ’ सोडारीले भने ।

उनले सुदूरपश्चिमको जडीबुटी खेर गइरहेको र त्यसको सदुपयोग गरेर उद्योग बनाउन जरुरी रहेको बताए ।  ‘ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि  विभेद गरेको छ । सुदूरपश्चिममा पनि कैलाली–कञ्चनपुरमा  विकास बढी केन्द्रीत हुँदा पहाडीका बस्ती खाली भएका छन । जनसंख्याको सन्तुलन मिलाउन सके पहाडी जिल्लाको बसाई सराई रोक्न सकिन्छ’ उनले भने ।

खप्तड, बडीमालिका, रामारोशन, अपिसाइपाल लगायत धार्मिक र पर्यटकीय क्षेत्रमा  पर्यटकीय गतिविधि बढाएर जनताको आम्दानी बढाउने काममा लाग्नुपर्नेमा मुख्यमन्त्री सोडारीको जोड थियो ।

उनले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर भारतको दिल्ली लगायतका शहरसंग जोड्नु पर्ने बताए । मुख्यमन्त्री सोडारीले भने, ‘ अहिले पनि ठुला अस्पताल नहुँदा बिमारी भारत  र काठमाडौ लैजानु पर्ने बाध्यता छ, त्यसका लागि संघीय सरकारले विशेष योजना बनाउनुपर्छ ।’