Skip to main content

सुदूरपश्चिमका लागि पहिलो एपिएफ स्कुल कञ्चनपुरको झलारीमा सञ्चालन

Submitted by editor on
कक्षा ३ र ४ मा १०५ जना भर्ना
ईबिगुल संवाददाता
 एपिएफ स्कुुल

धनगढी :  सशस्त्र प्रहरीले सुदूरपश्चिममा पहिलो पटक कञ्चनपुरको झलारीमा एपिएफ स्कुुल सञ्चालन गरेको छ । प्रदेशमै पहिलोपटक सशस्त्र प्रहरी बल नेपालले विद्यालय सञ्चालनमा ल्याएको हो ।

सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विद्यालयको उदघाटन गरे । सशस्त्र प्रहरीले कञ्चनपुर सहित देशका चार स्थानमा विद्यालय सञ्चालन गरेको हो । विद्यालयको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरिइाक अर्यालले एपिएफ स्कुलले देशलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने बताए । 

सशस्त्र प्रहरी बलले जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारी–पिपलाडीमा ‘नेपाल एपिएफ स्कुल’ सञ्चालनमा ल्याएको हो । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी कोषले चालू शैक्षिक सत्र २०८१ देखि आधारभूत तहको विद्यालय सञ्चालनमा ल्याएको हो ।

नेपाल एपिएफ स्कुल झलारीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम रावलले कक्षा चारमा ३३ र कक्षा पाँच मा ७२ गरी पहिलो वर्ष एक सय पाँच विद्यार्थी भर्ना भएको बताए । छात्र ९२ र छात्रा १३ जनाले भर्ना लिएका छन । संगठनको योजनाअनुरूप विद्यालयमा सशस्त्र प्रहरी बलका कर्मचारीका सन्तान एवं सर्वसाधारणका सन्तान अध्ययन गर्न पाउनेछन ।

विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिकवान विद्यार्थी उत्पादन गर्ने लक्ष्य अघि सारेको एसपी रावलले बताए । वैशाख १८ गतेदेखि नियमित कक्षा सञ्चालन भएका छन् । विद्यालयमा हाल ६ जना शिक्षक–शिक्षिका कार्यरत छन् । आगामी वर्षदेखि कक्षा थप हुँदै जाने एपिएफ विद्यालयले जनाएको छ । 

हाल विद्यालय सशस्त्र प्रहरी बल ३५ नम्बर गणकै भवनमा सञ्चालन भएको छ । विद्यार्थीलाई बसोवासदेखि खानपीनको व्यवस्थासँगै प्रदेशमा पहिलोपटक एपिएफले विद्यालय सञ्चालनमा ल्याएको हो।